कैलाली – कैलालीको भजनी नगरपालिका–३ का किसान सन्तलाल चौधरी यसवर्ष उत्पादन गरेको चैत धान बिक्री नहुँदा चिन्तित छन्। तीन बिघामा धान खेती गरेका उनले अहिलेसम्म आफ्नो उत्पादन बेच्न सकेका छैनन्। व्यापारीसँग पटक–पटक आग्रह गर्दा पनि उचित मूल्यमा धान बिक्री सम्भव नभएको उनको गुनासो छ।
“व्यापारीले अत्यन्तै सस्तोमा धान खोजिरहेका छन्,” उनी भन्छन्, “उनीहरूले भनेको मूल्यमा बेच्दा लागतसमेत उठ्दैन। अब त धान खेती गरेर पछुतो लाग्न थालेको छ।”
यद्यपि सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ, व्यापारीहरू उक्त मूल्यमा धान खरिद गर्न इच्छुक देखिएका छैनन्। हाल किसानहरूले प्रतिक्विन्टल २ हजारदेखि २ हजार ५०० रुपैयाँसम्ममा धान बिक्री गरिरहेका छन्, तर त्यो मूल्यमा पनि बिक्री ठप्पजस्तै छ।
गतवर्ष प्रतिक्विन्टल ३ हजार ८ सय रुपैयाँमा धान बिक्री गरेका अर्का किसान डल्लु दासले यसपालि उत्पादन बढी भए पनि बजारको अभावले समस्या थपिएको बताए। “गतवर्ष मैले त्यही धान ३८ सयमा बेचेको थिएँ, अहिले व्यापारीलाई कर कर गरेर पनि बिक्री गर्न सकेको छैन,” उनले भने। कति किसानले त उधारोमा व्यापारीलाई धान दिएका छन्, तर पैसा कहिले आउँछ भन्ने निश्चित छैन।
भजनी नगरपालिका–५ का लालभोझी निवासी कृषक बुढाले पनि उत्पादन गरेको धान जबरजस्ती उधारोमा व्यापारीका जिम्मा लगाउनु परेको अनुभव सुनाए। “एक बिघा धानमा झन्डै १८ हजार खर्च लाग्छ, तर बजार नभएको कारण लागतभन्दा कममा धान बेच्नुपरेको छ,” उनको भनाइ छ।
यसवर्ष भजनीमा करिब एक हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती भएको छ। उत्पादन बढेसँगै किसानको आकर्षण पनि बढेको थियो, तर बजार व्यवस्थापन नहुँदा धेरै किसान पछुतोमा परेका छन्। किसान परदेशु चौधरी भन्छन्, “गतवर्षको मूल्य राम्रो पाएपछि म आफैँले दुई बिघा थपेर धान लगाएँ, अहिले त्यो निर्णय गलत भएको महसुस हुँदैछ।”
भजनी डुबान जोखिमयुक्त क्षेत्र भएकाले वर्षा सुरु भएसँगै धान भण्डारणमा पनि चुनौती थपिएको छ। “बाढी आउँदा घरमा अन्न राख्न सकिँदैन, अहिले त धेरै किसानले धान हुलाकी सडकमै राखेका छन्,” स्थानीय भोजराज कठरिया बताउँछन्।
व्यापारीहरूले धान सस्तोमा किन्नका लागि किसानलाई दबाब दिइरहेको गुनासो समेत छ। भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी भन्छन्, “प्रदेश सरकारदेखि सङ्घीय सरकारसम्म किसानको धान खरिदको लागि गुहार लगायौँ, तर कुनै सुनुवाइ भएन।”
उनले सरकारलाई समर्थन मूल्यमै धान खरिद गरेर किसानलाई राहत दिन आग्रह गरे। “सयौँ क्विन्टल धान बिक्रीबिहीन अवस्थामा छ। सरकारले कदम नचाले व्यापारीले फाइदा उठाउने र किसान हतोत्साहित हुने निश्चित छ,” नगर प्रमुख चौधरीले भने।
भजनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चैते धान जोन सञ्चालनमा छ। तर, उत्पादन विस्तार भए पनि बजारीकरणको अभावले किसान मारमा परिरहेका छन्।
प्रतिक्रिया