धरान । धरान उपमहानगरपालिकामा मेयर र उपमेयरबीच चुलिँदै गएको विवादले नयाँ मोड लिएको छ । श्रमदानमा आधारित एक योजनाको भुक्तानी रोकिएको विषयलाई लिएर मेयर हर्क साम्पाङले प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईँलाई लिखित स्पष्टीकरण सोधेका छन् ।
मेयर साम्पाङले बिहीबार प्रमुख प्रशासकीय अधिकृत चौलागाईँलाई पत्र लेख्दै बहुभाषिक पाठशाला नजिकै तटबन्ध निर्माणमा तारजाली लगाउने कार्यको भुक्तानी रोक्नुको कारण माग गरेका हुन् । ‘आफैँले सम्झौता गरी सम्पूर्ण प्रक्रिया पूरा भइसकेको र सार्वजनिक परीक्षणसमेत भइसकेको योजनाको भुक्तानी किन रोकियो ?’ भन्दै मेयरले पत्रमा प्रश्न गरेका छन् । उनले चेतावनीपूर्ण भाषामा अन्य योजनाको भुक्तानीमा पनि यस्तै अवस्था आए उत्पन्न हुने असहज परिस्थितिको समाधान कसरी गर्नुहुन्छ भनी लिखित जवाफ दिन निर्देशन दिएका छन् ।
यो विवादको जडमा मेयर साम्पाङमाथि लागेको गम्भीर आरोप छ । उक्त श्रमदान कार्यको बील पेश गर्न लगाई आफ्ना नजिकका व्यक्तिहरूलाई ‘डोर हाजिरी’ फाराम भराएर अनियमित तरिकाले रकम भुक्तानी लिन खोजेको आरोप मेयरमाथि छ । यही आरोपका आधारमा अनुगमन समितिका संयोजक समेत रहेका उपमेयर आइन्द्रविक्रम बेघाले उक्त योजनाको निकासा रोकेका थिए ।
प्रतिक्रिया