सुनसरी : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरस्थित सडक खण्डमा ठूलो परिमाणमा अवैध भारतीय मदीरा सहित एक जना पक्राउ परेका छन्।
हिजो (शुक्रबार) राति ८:३० बजे तिर अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले काँकडभिट्टाबाट पोखरा जाँदै गरेको जिएए ०१८८ नम्बरको यात्रुबाहक बसलाई रोकेर चेकजाँच गरेको थियो। जाँचका क्रममा बसको साइडको डिक्कीमा लुकाएर राखिएको अवस्थामा भारतीय उत्पादनको 'ओल्ड मकं डिलक्स रम' (७५० एमएल) का ३५९ बोतल र रोयल स्ट्याग (७५० एमएल) का १२ बोतल फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
सोधपुछका क्रममा ती मदीरा कास्की जिल्ला पार्चे गाउँपालिका–१ निवासी ४५ वर्षीय खगेन्द्र सिंह गुरुङको भएको खुलेको प्रहरीले जनाएको छ। उनी उक्त बसमा यात्रुका रूपमा सवार थिए।
बरामद मदीरा र पक्राउ परेका गुरुङलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याइएको छ। उनीविरुद्ध आन्तरिक राजस्व ऐन अन्तर्गत कारबाही अगाडि बढाइएको र मुद्दा प्रक्रियाका लागि उनलाई राजस्व अनुसन्धान कार्यालय इटहरीमा पठाउने तयारी भइरहेको सुनसरी प्रहरीले जनाएको छ।
प्रतिक्रिया