सुनसरी ः सुनसरीको वराहक्षेत्र नगरपालिका–३ स्थित नडाहा चोकमा १६२ किलो लागू औषध गाँजासहित भारतीय नम्बर प्लेटको कार बरामद गरिएको छ। कार चालक भने घटनास्थलबाट फरार भएका छन्।
हिजो (शुक्रवार) राति २ः१० बजेको समयमा लागू औषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी र सशस्त्र प्रहरी बल चतराबाट संयुक्त रूपमा खटिएको टोलीले धरानबाट नडाहा चोकतर्फ आइरहेको भारतीय नम्बर प्लेट (MH 02 BP 9742) भएको सुजकी कम्पनीको कारलाई जाँच गर्न प्रयास गरेको थियो।
तर, प्रहरी टोली देख्ने बित्तिकै कार सडकमै रोकेर चालकसहित दुई जना व्यक्ति फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
त्यसपछि कारलाई चेकजाँच गर्दा डिक्कीमा लुकाएर राखिएको अवस्थामा कालो प्लास्टिकका पाँच पोका र जेब्रा झोलामा राखिएका तीन पोका गरी जम्मा आठ पोकामा १६२ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
बरामद लागू औषधसहित कारलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याइएको छ। फरार रहेका तस्करहरूको पहिचान तथा खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
लागूऔषध कारोबारमा संलग्न गिरोहको सम्भावित संलग्नताबारे अनुसन्धान भइरहेको जनाइएको छ।
प्रतिक्रिया