धरानमा लिम्बुवान मञ्चद्वारा भ्रष्टाचार र अतिक्रमणविरुद्ध मोटरसाइकल र्याली

शनिबार, २१ असार २०८२

धरान :  संघीय लिम्बुवान मञ्च सुनसरीको आयोजनामा शनिबार धरानमा भ्रष्टाचार, भूमाफिया, जलमाफिया तथा सांस्कृतिक अतिक्रमण विरुद्ध मोटरसाइकल र्याली सम्पन्न भएको छ। लिम्बुवान भोलिन्टियर्स (एल भी) का केन्द्रीय सदस्य प्रेम लिंखिमको नेतृत्वमा र्याली शान्तिपूर्ण ढंगले सम्पन्न भएको मञ्चले जनाएको छ।

धरान उपमहानगरपालिका–८ स्थित तीनकुनेबाट सुरु भएको मोटरसाइकल र्याली महादेवचोक, सेउती पुल, तल्लो देउराली, याक्थुम चोक, बगरकोट, एवरेस्ट लाइन, माछा भौडी, भानुचोक, छाताचोक, लक्ष्मीचोक, जिरोपोइन्ट चोक, रंगशाला मार्ग, पानी ट्याङ्की, मंगलबारे चोक, रत्नचोक, बुद्धचोक, किरातचोक, हुँदै सिलामसाकमा चोकको परिक्रमा गरी हरियाली सामुदायिक भवनमा कोणसभामा परिणत भएको थियो।

कालो टिसर्ट र लिम्बुवान मञ्चको झण्डासहित सहभागीहरूले ‘एल भी लिम्बुवान’को पहिचानमा र्यालीमा सहभागिता जनाएका थिए। उनीहरूले लिम्बुवान क्षेत्रमा भइरहेको 'नाङ्गो र बर्बर अतिक्रमण'को विरोध गर्दै मूलवासी, स्वदेशी समुदायको हक, अधिकार र स्वायत्तताको सुनिश्चितता माग गरे।

कोणसभामा बोल्दै केन्द्रीय सदस्य लिंखिमले भ्रष्टाचारविरुद्ध कडा कारबाही हुनुपर्ने, प्रदेशको नामकरणमा लिम्बुवान–किरात पहिचान समेटिनुपर्ने, मातृभाषालाई राज्य संयन्त्रमा स्थान दिनुपर्ने तथा क्षेत्रीय विकासमा स्वदेशी समुदायको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने मागहरू उठाए।

संघीय लिम्बुवान मञ्चले शान्तिपूर्ण माध्यमबाट आफ्नो हक, पहिचान र अधिकारका सवालमा सशक्त ढंगले आवाज उठाउँदै जाने प्रतिवद्धता जनाउँदै कार्यक्रममा सहभागिता जनाउने सम्पूर्णलाई धन्यवाद दिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार