शिक्षामा चम्किँदै कोशी : विराटनगर–इटहरीमै छ भविष्य

आइतबार, २२ असार २०८२
File Photo

कोशी प्रदेशमा उच्च माध्यमिक तहको शिक्षाको गुणस्तरमा उल्लेखनीय सुधार भइरहँदा विराटनगर, इटहरी, धरान, बिर्तामोडलगायतका सहर शैक्षिक केन्द्रका रूपमा तीव्र गतिमा विकास हुँदै गएका छन् । विशेष गरी एसइई उत्तीर्ण गरेर कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने विद्यार्थीको आकर्षणसँगै यी सहरले शिक्षाको ‘हब’ बन्ने सङ्केत देखाएका छन् ।

एसइई २०८१ मा कोशी प्रदेशका ७५ हजार ४६६ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ४७ हजार ८३५ जना उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्कले देखाउँछ । उत्तीर्णमध्ये करिब छ हजार २५८ विद्यार्थीले ३.६ देखि ४.० जिपिए हासिल गरेका छन् । यसले कोशीका विद्यार्थीमा अब स्थानीय तहमै गुणस्तरीय शिक्षाको खोजी बढ्दै गएको पुष्टि गर्छ । एक समय यस्तो थियो, उच्च शिक्षाका लागि काठमाडौँ वा विदेश जाने प्रवृत्ति बलियो थियो तर पछिल्लो केही वर्षयता कोशी प्रदेशभित्रै सञ्चालित शैक्षिक संस्थाको पूर्वाधार, पठनपाठनको स्तर, शिक्षण शैली र नतिजाले विद्यार्थीलाई यहीँ रोक्न थालेको छ ।

विराटनगर महानगरपालिकाभित्र मात्र १७६ वटा विद्यालय सञ्चालित छन्, जसमा ४७ भन्दा बढी विद्यालयले कक्षा ११ र १२ सञ्चालन गरिरहेका छन् । विराटनगर महानगरपालिकाको तथ्याङ्क अनुसार २९ वटा संस्थागत विद्यालय रहेका छन् भने अन्य निजीस्तरबाट सञ्चालित छन् । अरनिको, पोखरिया, मेरिल्यान्ड, विराट एकेडेमी, सगरमाथा, शिक्षादीप, हिमालयनलगायतका प्रतिष्ठित कलेजमा बर्सेनि हजारौँ विद्यार्थी भर्ना हुने गरेका छन् । कतिपय कलेजमा प्लस टु तहमा मात्र पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

यी शिक्षालयमा स्मार्ट बोर्ड, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, पुस्तकालय र यातायातसहितका आधारभूत भौतिक पूर्वाधार रहेका छन् । केही शिक्षालयले अन्तर्राष्ट्रियस्तरको पाठ्यव्रmम अनुसार सिकाइ प्रणाली अपनाएका छन् । सूचना प्रविधिमैत्री शिक्षण, अभ्यासमुखी कक्षा, शिक्षक–विद्यार्थी अन्तव्रिर्mया र नेतृत्व विकासकेन्द्रित सिकाइ प्रविधि समावेश गरिएका छन् ।

सुनसरीका शैक्षिक अभियन्ता प्रज्वल पराजुलीका अनुसार इटहरी अहिले शैक्षिक गन्तव्यका रूपमा स्थापित भइसकेको छ । निजी तथा सामुदायिक संस्थाले गुणस्तरीय शिक्षाका लागि भौतिक र पठनपाठन संरचना दुवैमा उल्लेखनीय सुधार गरिरहेका छन् । “इटहरीमा पढ्न चाहने विद्यार्थीको सङ्ख्या र संस्थाको तयारी हेर्दा अब उच्च शिक्षाका लागि राजधानी वा विदेश जानुपर्ने बाध्यता हट्न थालेको छ,” पराजुलीले बताउनुभयो ।

विराटनगरको अरनिको कलेजले विज्ञान सङ्कायतर्फ विशेष पहिचान बनाउँदै आएको छ । विद्यालयका प्रधानाध्यापक राजेश कार्कीका अनुसार अरनिकोले गत वर्ष बोर्ड प्रथमसमेत उत्पादन गरेर आफूलाई प्रमाणित गरिसकेको छ । उहाँले भन्नुभयो, “अब विराटनगरले मात्र होइन, कोशी प्रदेशका सामुदायिक र संस्थागत दुवै शिक्षालयले आफूलाई शैक्षिक हबका रूपमा स्थापित गरिरहेका छन् ।”

कार्कीका अनुसार सामुदायिक विद्यालयमा समेत प्राविधिक धारको शिक्षाले विद्यार्थीलाई उद्यमशीलता र रोजगारीकेन्द्रित बनाउन थालेको छ । “हामीले अन्तर्राष्ट्रियस्तरका विद्यार्थी उत्पादन गरिसकेका छौँ,” उहाँको भनाइ छ ।

विराटनगरका शिक्षादीप, मेरिल्यान्ड, पोखरिया, अर्किड, कोवास, कान्तिपुर, ग्रिनल्यान्ड, बिकेभिएम जस्ता शैक्षिक संस्थाले पनि उत्कृष्ट नतिजा दिएर क्षेत्रीय हबको स्वरूप निर्माण गरिरहेका छन् । मोरङकै साजिलाल माविका प्रधानाध्यापक श्यामबाबु काफ्ले भन्नुहुन्छ, “शिक्षामा भौतिक पूर्वाधार मात्र होइन, जीविकोपार्जनसँग जोडिएको व्यावहारिक शिक्षाले गुणस्तर उकासिएको छ ।”

झापा जिल्लामा दमक बहुमुखी, हिमालयन मावि, देवी मावि, मनकामना, क्वेट, गमेन्द्र, धुलाबारी र काँकडभिट्टालगायतका शिक्षालयले समेत झापालाई शैक्षिक केन्द्रका रूपमा चिनाउँदै लगेका छन् । सञ्चारकर्मी अम्बिका भण्डारीका अनुसार झापाका विद्यालयले ग्रामीण क्षेत्रका विद्यार्थीलाई समेत छात्रवृत्ति, यातायात र सुविधायुक्त शिक्षाका माध्यमबाट गुणस्तरीय अवसर उपलब्ध गराइरहेका छन् ।

सुनसरी जिल्लामा इटहरीका विश्व आदर्श, कोशी, कस्तुरी, नमुना, जनता, राष्ट्रिय मावि, स्किल, सुषमा गोदावरी र एडुटेक कलेज, धरानका आदर्श, पब्लिक हाई, हिमालयन स्कुल, वराहक्षेत्रका जडेजलगायत शिक्षालयले शैक्षिक गतिविधि सुदृढ बनाएका छन् । सुनसरी जिल्ला कोशी प्रदेशकै केन्द्र भागमा रहेको जिल्लासमेत भएकाले यहाँ हरेक सामुदायिक तथा संस्थागत विद्यालयमा समेत विद्यालयको चाप रहने यहाँका जानकार बताउँछन् । 

नेपाल विद्यार्थी सङ्घ सुनसरीका सभापति प्रमोद भट्टराईका अनुसार जिल्लाको दक्षिणी भेगमा केही समस्या रहे पनि अधिकांश शैक्षिक विषयमा स्थानीय तहमा अध्ययनको सुविधा उपलब्ध छ । उहाँले संस्कृतदेखि सूचना प्रविधि र कृषि शिक्षासम्म जिल्लामा अध्ययनको पर्याप्त संरचना रहेको बताउनुभयो ।

कोशी प्रदेशका पहाडी जिल्लामा समेत शैक्षिक व्रmान्ति देखिएको छ । इलाम, पाँचथर, धनकुटा, भोजपुर, ओखलढुङ्गा, सोलु र खोटाङका दर्जनौँ शिक्षालयले स्थानीयस्तरमै उत्कृष्ट परिणाम निकालिरहेका छन् । चिसापानी नमुना माविका प्रधानाध्यापक रामबहादुर राउतका अनुसार यातायात र प्रविधिमा सीमितता हुँदाहुँदै पनि पहाडी विद्यालयले गुणस्तरीय शिक्षा दिन सक्षम भएका छन् ।

शिक्षा विकास निर्देशनालय, धनकुटाका निर्देशक कृष्णप्रसाद पोखरेलका अनुसार कोशी प्रदेशका अधिकांश विद्यालय र कलेजमा विद्यार्थीको चाप बढ्दो छ । “मधेशका विद्यार्थीसमेत विराटनगरका सामुदायिक विद्यालयमा आकर्षित भइरहेका छन्,” पोखरेलले भन्नुभयो ।

उहाँका अनुसार प्रदेश सरकारले शिक्षाको गुणस्तर कायम राख्दै रोजगारीसँग जोड्न ‘पढ्दै कमाउँदै’ कार्यव्रmमसमेत सञ्चालन गरिरहेको छ । “यो कार्यव्रmमले विद्यार्थी बिदेसिने दर कम गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ,” पोखरेलको भनाइ छ ।

यसरी शिक्षा पूर्वाधार, नतिजा, प्रविधिमैत्री सिकाइ, निजी–सार्वजनिक सहकार्य र शैक्षिक नेतृत्वका आधारमा कोशी प्रदेश, विशेषतः विराटनगर, धरान, इटहरी र बिर्तामोड जस्ता सहर उच्च माध्यमिक तहमा देशकै प्रमुख शैक्षिक केन्द्रका रूपमा अग्रसर बन्दै गएका छन् । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।

यो पनि :-

यी हुन् कोशी प्रदेशका उत्कृष्ट १० सामुदायिक विद्यालय

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार