विराटनगर : मोरङ जिल्ला कारागारमा थुनामा रहेका एक बन्दीको बुधबार साँझ विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको छ। जबरजस्ती करणी मुद्दामा थुनामा रहेका ४० वर्षीय सन्तोष पालको उपचारको क्रममा निधन भएको कारागारका जेलर गौरव ढुंगेलले पुष्टि गरेका छन्।
पाल विराटनगर महानगरपालिका–५ निवासी हुन्। उनलाई जबरजस्ती करणी आरोपमा जिल्ला अदालत मोरङले २०८१ साल मंसिर ११ गते थुनामा राख्ने आदेश दिएपछि कारागार चलान गरिएको थियो।
कारागारमा रहेकै बेला शरीर सुन्निने र श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि उनलाई असार १२ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा बुधबार साँझ उनको मृत्यु भएको हो।
जेल प्रशासनका अनुसार सन्तोष पालमाथिको जबरजस्ती करणी मुद्दा हालसम्म अदालतमा विचाराधीन अवस्थामा रहेको थियो। जेलर ढुंगेलले मृतकको शव परिवारलाई जिम्मा लगाइसकिएको बताए ।
प्रतिक्रिया