काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतम अब नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने भएका छन्। साउन २ गते राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहमार्फत गौतम नेतृत्वको अभियान र माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबीच एकता औपचारिक रूपमा घोषणा गरिने छ।
दुवै पक्षबीच भएको सहमतिमा अध्यक्ष माधव नेपाल र बामदेव गौतमले हस्ताक्षर गरिसकेका छन्। सहमति पत्रमा नेपालका कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने ऐतिहासिक आवश्यकता रहेको उल्लेख गर्दै, राजनीतिक सिद्धान्त र मूल्य–मान्यतामा समानता भएकाले एकता सम्भव भएको जनाइएको छ।
पूर्व एमाले उपाध्यक्षसमेत रहेका बामदेव गौतमले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता सर्वोच्च अदालतले खारेज गरेपछि कुनै पार्टीमा नलागी "नेकपा एकता राष्ट्रिय अभियान" सुरु गरेका थिए।
सुरुवातमा उनी पुनः एमालेमै फर्कने मनस्थितिमा थिए, तर अध्यक्ष केपी शर्मा ओलीको अनिच्छाले गर्दा त्यो सम्भव भएन। अहिले भने उनले ओलीको एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीसँग हातेमालो गरेका छन्।
प्रतिक्रिया