इलाम । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी कात्तिक १३ देखि १५ गतेसम्म कोशी प्रदेशका विभिन्न स्थानहरूमा निरन्तर वर्षा हुने पूर्वानुमान गरेपछि इलाम सडक डिभिजनले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
डिभिजनका अनुसार असोज १८ गतेको भीषण वर्षा र पहिरोका कारण विभिन्न सडकखण्डहरूमा ठूलो क्षति पुगेको थियो । ती स्थानहरूमा मर्मत कार्य भइरहेका बेला पुनः वर्षा भएमा बाढी–पहिरोको जोखिम अझ बढ्ने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरिएको हो ।
सडक डिभिजनले विशेषगरी राजमार्गका संवेदनशील स्थानहरूमा आवागमन गर्दा अत्यधिक सतर्कता अपनाउन सुझाव दिएको छ । साथै अत्यावश्यक कार्य बाहेक अन्य यात्रा नगर्न सवारी चालक र सर्वसाधारणलाई पनि अनुरोध गरिएको छ ।
डिभिजन प्रमुख पवन भट्टराईले भने, “निरन्तर वर्षा हुँदा सडक भासिने, पहिरो खस्ने र आवतजावत अवरुद्ध हुने सम्भावना भएकाले सबैलाई सजग रहन आग्रह गर्दछौं।”
हाल इलामसहित पूर्वी पहाडी जिल्लाहरूमा निरन्तर वर्षा भइरहेको छ, जसका कारण स्थानीय बासिन्दा र यातायात व्यवसायीहरूमा थप सतर्कता अपनाइएको छ ।
प्रतिक्रिया