विराटनगर : मोरङको कटहरीमा शनिबार राति बन्दाकोपी लोड गरिएको ट्रकबाट ३ हजार १ सय ५० किलो गाँजा बरामद भएको छ।
प्रहरीले दिएको जानकारी अनुसार कटहरी गाउँपालिका–३ स्थित कटहर चोकमा राति साढे १२ बजेतिर चेकजाँच गर्दा को १ ख ४५१८ नम्बरको ट्रकमा लुकाइराखिएको अवस्थामा गाँजा भेटिएको हो।
प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, ट्रकमा देखिनेगरी बन्दाकोपीका बोरा राखिए पनि ती बोरामुनि १ सय ५ वटा गाँजाका बोरा लुकाइएको फेला परेको हो।
ट्रक जाँचका क्रममा प्रहरी देखेपछि चालक फरार भएका छन्। हाल उनीहरूको खोजी तीव्र पारिएको छ। प्रारम्भिक अनुसन्धानमा पहाडी जिल्लाबाट ल्याएर भारत तर्फ तस्करी गर्न लागिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ।
यसअघि पनि मोरङ जिल्लामा ठूलो परिमाणमा गाँजा बरामद हुँदै आएको थियो। असार २५ गते धनपालथान गाउँपालिका–१ मा ८०२ किलो गाँजा बरामद भएको थियो।
जिल्ला प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले गाँजा तस्करी नियन्त्रण गर्न विशेष अपरेशन सञ्चालन गरिएको जानकारी दिए। ‘सीमा क्षेत्र र सम्भावित तस्करी मार्गमा निगरानी बढाइएको छ,’ चिमरियाले भने।
प्रतिक्रिया