काठमाडौँ : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्य क्षेत्रमा सक्रिय गैरनाफामूलक संस्था ‘काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)’ लाई बहुविशिष्टीकृत बाल अस्पताल निर्माणका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ।
कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सो रकम प्रदान गरिएको हो। किओचको कार्यालयमा आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष डा. भगवान कोइराला र नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीण रमण पराजुलीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
बुढानीलकण्ठ नगरपालिका–७ मा निर्माणाधीन किओच–काठमाडौँ बहुविशिष्टीकृत बाल अस्पतालको मूल भवन अन्तिम चरणमा पुगेको छ भने क्लिनिकल रिसर्च बिल्डिङ निर्माण भई सेवा सञ्चालनमा आइसकेको छ।
कार्यक्रममा नेपाल लाइफका सञ्चालक कमलेश कुमार अग्रवालले परियोजनाले बालबालिकाको स्वास्थ्य सुधारमा टेवा पुर्याउने विश्वास व्यक्त गर्दै यस्तो सहकार्यले राज्य नीतिमा समेत योगदान पुर्याउने बताए।
सिइओ पराजुलीले सामाजिक, आर्थिक, शैक्षिक र संस्कृतिक क्षेत्रमा परिवर्तन ल्याउन नेपाल लाइफ प्रतिबद्ध रहेको उल्लेख गर्दै बाल स्वास्थ्यका क्षेत्रमा देशव्यापी सहकार्यका लागि कम्पनी तत्पर रहेको जानकारी दिए।
डा. कोइरालाले नेपाल लाइफको सहयोगले परियोजना अघि बढ्न थप ऊर्जा मिलेको बताउँदै, भविष्यमा पनि यस्तै सहकार्यको अपेक्षा गरे।
किओचले देशभर प्रादेशिक बाल अस्पतालहरूको स्रोत केन्द्रको रूपमा केन्द्रीय अस्पताल सञ्चालन गर्ने लक्ष्य लिएको छ। किओचको पहिलो अस्पताल दमकमा सञ्चालनमा आइसकेको छ, जसबाट आकस्मिक सेवा, पीआईसीयू, एनआईसीयू, शल्यक्रिया लगायतका सेवा दिइँदै आएको छ।
प्रतिक्रिया