विराटनगर : मोरङको धनपालथान गाउँपालिका–१ स्थित गदिया खोलाको किनारमा भण्डारण गरी राखिएको ठूलो परिमाणको गाँजा प्रहरीले बिहीबार बिहानका राति बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले ३ सय २३ किलो ३ ग्राम गाँजा नियन्त्रणमा लिएको हो। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार खोला किनारमै बेवारिसे अवस्थामा १० वटा बोरामा प्याक गरिएको अवस्थामा गाँजा फेला परेको हो।
‘बिहान १ बजेतिर इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले फेला पार्यो,’ चुँडालले भनिन्, ‘शंकास्पद रूपमा राखिएको थियो।’ गाँजा बरामद कार्यमा सशस्त्र प्रहरी बलको बीओपी नोचाबाट खटिएको टोलीले पनि साथ दिएको थियो।
बरामद गाँजा हाल इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ। गाँजा कसको हो र कसले भण्डारण गरेर राखेको भन्ने खुलेको छैन । प्रारम्भिक अनुसन्धानले उक्त गाँजा भारत पठाउने तयारीमा सीमावर्ती क्षेत्रमै भण्डारण गरिएको हुनसक्छ ।
'स्थान र समयको आधारमा भारततर्फ तस्करीका लागि तयारी गरिएको जस्तो देखिन्छ,’ डीएसपी चुँडालले भनिन्, ‘गाँजा कसले ल्यायो, कहाँबाट ल्याइयो, कसको संलग्नता छ भन्ने विषयमा अनुसन्धान भइरहेको छ।’ पछिल्लो समय मोरङका सीमावर्ती क्षेत्रहरूमा लागुऔषध तथा गाँजाको अवैध कारोबार तीव्र बन्दै गएको छ।
यस घटनासँगै प्रहरीले सीमावर्ती क्षेत्रमा गस्ती कडा पारेको छ । गाँजा भण्डारणमा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउ गर्न अनुसन्धान तीव्र पारिएको डीएसपी चुँडालले बताइन् ।
प्रतिक्रिया