सेवाग्राहीको काममा ढिलासुस्ती गर्ने कम्पनी रजिस्ट्रार कार्यालयका ३१ कर्मचारी एकैपटक सरुवा

मंगलबार, ०६ साउन २०८२

काठमाडौं : उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी रजिष्ट्रार कार्यालयका ३१ जना कर्मचारीलाई एकैपटक सरुवा गरेको छ।

सेवाग्राहीका काम समयमा नगरेको र अनलाइन प्रणालीमा प्रविष्ट भइसकेका फाइलसमेत सदर नगरेको भन्ने गुनासो बढेसँगै मन्त्रालयले छानबिनपछि यो निर्णय लिएको हो।

सोमबार मन्त्रालयले कम्प्युटर निर्देशकसहित शाखा अधिकृत, नायब सुब्बा, कम्प्युटर अपरेटर र कार्यालय सहयोगीसमेतका कर्मचारीलाई अन्य कार्यालयमा खटाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गत असार २७ गतेको निर्णयअनुसार सहसचिवको नेतृत्वमा गठित छानबिन तथा कारबाही सिफारिस समितिको प्रतिवेदनका आधारमा यो कदम चालिएको हो।

मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार कम्पनी प्रशासनसम्बन्धी अनलाइन सेवा तथा प्रणालीको गुनासोका कारण स्थलगत अनुगमनपछि तत्काल सुधार गर्न निर्देशन दिइएको थियो।

तीन सदस्यीय कार्यदलले स्थलगत निरीक्षण गरी प्रणालीगत कमजोरी औंल्याउँदै सुधारका लागि व्यापक सुझाव दिएको थियो।

कार्यदल तथा छानबिन समितिको सिफारिसमा आधारित रही मन्त्रालयले कम्पनी रजिष्ट्रार कार्यालयको सेवा चुस्त, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यसहित कारबाही प्रक्रिया अघि बढाएको हो।

यसबाहेक, कम्पनी ऐन तथा प्रचलित कानुनबमोजिम प्रणालीगत सुधार गर्दै अनलाइन सेवा प्रवाहलाई प्रभावकारी बनाउन र नियमित अनुगमनको प्रक्रिया अघि बढाउन समेत कार्यालयलाई निर्देशन दिइएको प्रवक्ता बस्नेतले स्पष्ट पारे।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार