इलाम : इलाममा आत्महत्या दर घट्दै गएको छ भने चोरी, जबरजस्ती करणी, लागुऔषध र अन्य आपराधिक गतिविधिमा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
प्रहरी उपरीक्षक (एसपी) एकनारायण कोइरालाका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु वर्ष आत्महत्याका घटना ३० प्रतिशतले घटेका छन्। गत वर्ष १२० जनाले आत्महत्या गरेकोमा यस वर्ष यो संख्या घटेर ८४ मा सीमित भएको हो। आत्महत्या न्यूनीकरणका लागि प्रहरीले वडा तहसम्म कार्यदल बनाएर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो। जिल्ला भरि १५० वटा चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
तर, अन्य आपराधिक घटनाहरू भने बढेका छन्। यस वर्ष मात्रै ३१ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भई ३१ जना पक्राउ परेका छन्। गत वर्ष यस्ता घटना २६ मात्र थिए। चोरीका घटना पनि १० बाट बढेर १७ पुगेका छन् भने यसबर्ष २७ जना चोरीमा संलग्न रहेको भन्दै पक्राउ गरिएको छ।
एसपी कोइरालाका अनुसार यस वर्ष जघन्य अपराध अनुसन्धानमा प्रहरीले उल्लेखनीय सफलता हासिल गरेको छ। सूर्योदय–११ का धनराज राई हत्या प्रकरणमा उनका छोरा एडवर्डसहित ६ जना र इलाम नगरपालिका–४ का देउप्रसाद राई हत्या प्रकरणमा दुई जना कारागार चलान भएका छन्।
त्यस्तै, फाकफोकथुममा गर्भवती श्रीमती विमला कट्टेलको हत्या गरेको अभियोगमा उमेश गिरि र अर्का एक जना पनि पक्राउ परी कारागार चलान भएका छन्। गिरिले डोजरबाट खाडल खनेर पत्नीलाई पुर्दै हत्या गरेको प्रहरीले जनाएको छ।
बालिका बलात्कार प्रकरणमा माई नगरपालिकाको एक घटना उल्लेखनीय छ जहाँ १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी मिलापत्र गरेर घटना लुकाउन खोजिएको थियो। चार जना अभियुक्तमध्ये एक जना अहिले कारागारमा छन् भने अन्य धरौटीमा रिहा भएका छन्।
प्रहरीले अदालतबाट सजाय सुनाइएका १४६ फरार अभियुक्तलाई चालु वर्षमा पक्राउ गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा दोब्बर हो (गत वर्ष ७१ जना मात्र पक्राउ परेका थिए)।
लागुऔषधसम्बन्धी मुद्दाहरू पनि बढेका छन्। चालु वर्ष २७ मुद्दामा ५२ जना पक्राउ परेका छन्, जुन गत वर्षको १८ मुद्दामा ३४ जना पक्राउको तुलनामा उल्लेखनीय वृद्धि हो।
सवारी दुर्घटनासम्बन्धी मुद्दामा भने संख्यात्मक घटोउ भए पनि मृतक संख्यामा अन्तर देखिएको छैन। गत वर्ष १० मुद्दामा ९ जनाको मृत्यु भएकोमा चालु वर्ष ८ मुद्दामा पनि ९ जनाको मृत्यु भएको छ।
भन्सार चोरीपैठारी नियन्त्रण अन्तर्गत ३४ वटा सवारी साधन नियन्त्रणमा लिइएको र ७ जना पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको छ।
चोरी नियन्त्रण तथा निगरानीका लागि इलाम नगरपालिका र माई नगर क्षेत्रमा सीसी क्यामेरा जडान तथा निगरानी बढाइएको छ। साथै, प्रहरी कार्यालयमा स्थापना गरिएको मनोसामाजिक परामर्श कक्षमार्फत लागुऔषध प्रयोगकर्ता, आत्महत्या प्रयास गर्ने व्यक्ति तथा घरेलु हिंसाबाट पीडितलाई परामर्श दिइएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चालु वर्ष १९७ वटा आपराधिक मुद्दा दर्ता भएका छन्।
प्रतिक्रिया