मधेशमा अपराधको नयाँ रूप : एक वर्षमै १२ हजार मुद्दा दर्ता, कुन प्रकृतिका अपराध बढे ?

आइतबार, ११ साउन २०८२

काठमाडौँ : मधेस प्रदेशमा अपराधको स्वरूप बदलिँदै गएको छ। परम्परागत अपराध घट्दै गए पनि लागुऔषध कारोबार,आत्महत्या, सामाजिक अपराध र भन्सार छलीको दर बढेको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार १२ हजार ५६५ वटा विभिन्न मुद्दा दर्ता भएका छन्। लागुऔषध कारोबारसम्बन्धी मात्रै ४५८ मुद्दा छन्। लागुऔषध नियन्त्रणमा प्रहरीले २५ हजार किलोभन्दा बढी गाँजा, सयौँ किलो चरेस, अफिम, ब्राउन सुगर र लाखौँ मात्रा ट्याब्लेट, इन्जेक्सनसहित २२ करोड रुपैयाँ बराबरको लागुऔषध बरामद गरेको छ।

प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदी भन्छन्, “लागुऔषध कारोबारको समस्या गहिरिँदै गएको छ, हामी प्रयासरत छौँ, तर यो प्रहरी मात्रले सम्भव छैन। समग्र रणनीति र सरोकारवालाको साझा प्रयास आवश्यक छ।”

आत्महत्याको दर पनि चिन्ताजनक छ। गत वर्ष ७२८ जनाले आत्महत्या गरेका छन्। घरेलु हिंसा, बेरोजगारी, मानसिक तनाव, प्रेम असफलता, वैदेशिक रोजगारीमा असफलता लगायत कारण आत्महत्याको मुख्य कारण रहेको प्रहरीको निष्कर्ष छ।

प्रहरीले गत वर्ष ५ हजार ८११ जना फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ। साथै, साना–ठुला गरेर ३५ वटा हतियार बरामद गरेका छन् भने ट्राफिक कारबाहीबाट मात्रै १८ करोड ३७ लाख राजस्व सङ्कलन भएको छ।

प्रदेशमा २८९ वटा सवारी दुर्घटनामा ३२१ जनाले ज्यान गुमाएका छन्। पोखरीमा डुबेर २१५ जना, करेन्ट लागेर १३८ जना, आगलागीमा १९ जनाको मृत्यु भएको छ। “तराईमा पोखरी सुरक्षामा लापरबाही, माछा पोखरी जथाभाबी खनाइले बालबालिका डुबेर मृत्यु हुने घटना बढेका छन्,” डिआइजी चतुर्वेदी भन्छन्।

राजनीतिक द्वन्द्व र साम्प्रदायिक तनाव घट्दै गए पनि समय–समयमा पुनः भड्किन सक्ने खतरा रहेको प्रहरीको चेतावनी छ। “समस्याको रूप परिवर्तन भइरहेको छ, प्रहरी मात्रले हैन, समाजकै सक्रिय भूमिका जरुरी छ,” चतुर्वेदीको भनाइ छ।

 आर्थिक वर्ष २०८०/८१ मा मधेस प्रहरीले १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको भन्सार छली नियन्त्रण गर्दै राजस्व सङ्कलन गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार