पर्सा : गर्मी र खानेपानीको अभाव चुलिँदा नेपाली सेनाको श्रीजंग गणले वीरगन्ज महानगर र आसपासका क्षेत्रमा दैनिक औसत एक लाख लिटर खानेपानी वितरण गर्दै आइरहेको छ।
मधेश प्रदेश सरकारद्वारा उपलब्ध गराइएको पानी ट्याङ्कर मार्फत नेपाली सेनाले दिनको तीन पटक तीव्र अभाव झेलिरहेका बस्तीमा पानी वितरण गरिरहेको छ।
श्रीजंग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीका अनुसार सेनाले छ वटा ट्याङ्कर परिचालन गरी वीरगञ्जका विभिन्न वडा र पर्साका अन्य पालिकामा पानी पुर्याइरहेको छ।
‘‘पानीको अभावले पीडित बस्तीलाई लक्षित गरेर बिहान ७ बजे, दिउँसो २ बजे र साँझ ६ बजे गरी पानी वितरण गरिरहेका छौँ,’’ सेनानी कार्कीले बताए।
खानेपानी सङ्कट समाधानका लागि मधेश प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह, खानेपानी संस्थान र सेनाबिच समन्वयमा पानी वितरण भइरहेको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार अभाव झेलिरहेका स्थानमा ट्याङ्करको पानीले राहत मिलेको छ।
‘‘सर्वसाधारण दिनरात फोन गरेर पानी माग गर्नुहुन्छ,’’ प्रजिअ अर्यालले भने, ‘‘तालिकाबद्ध रूपमा पानी वितरण गर्दै आइरहेका छौँ।’’
गत साउन १ गतेदेखि सेनाले ट्याङ्कर मार्फत पानी वितरण थालेको हो। साउन ५ देखि जिल्ला प्रशासन कार्यालयले तालिका बनाइ पानी वितरण गरिरहेको छ।
सेनाले वीरगञ्जका छपकैया, गायत्री टोल, राधेमाई, श्रीपुर, बहुअरीचोक, भिष्वा, रामगढवा, सुगौली बिर्ता, हुसनजहान चोक लगायतका क्षेत्रमा नियमित वितरण गरिरहेको छ। त्यस्तै, बहुदरमाई नगरपालिकाको विश्रामपुर र दक्षिणटोलमा पनि बिहान १० र दिउँसो ४ बजे पानी वितरण हुँदै आएको छ।
प्रजिअ अर्यालका अनुसार समस्या समाधान नहुँदासम्म सेनाको ट्याङ्कर मार्फत पानी वितरण कार्य निरन्तर जारी रहनेछ।
प्रतिक्रिया