कर्णाली विकास बैंक घोटाला: १११ जना संलग्न, मुद्दा दर्ता प्रक्रिया अघि बढ्दै

सोमबार, १२ साउन २०८२

काठमाडौँ : कर्णाली विकास बैंक घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ठूलाे संलग्नता खुलाउँदै १११ जना विरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। विस्तृत अनुसन्धानपछि तयार पारिएको प्रतिवेदन सीआईबीले सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ, जसको अध्ययन भइरहेको छ।

सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा अब उच्च अदालत नेपालगञ्जमा मुद्दा दर्ता गरिने तयारी भइरहेको छ। यस प्रकरणमा हालसम्म चार जनालाई पक्राउ गरिसकिएको छ।

पछिल्लो पटक राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई टोखा क्षेत्रबाट पक्राउ गरी बाँके लगेर अनुसन्धान गरिएको हो। उनकाे खातामा कर्णाली विकास बैंकबाट १० लाख रुपैयाँ जम्मा भएको प्रमाण फेला परेपछि उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।

यसअघि बैंकका तत्कालीन अध्यक्ष दयाल मिश्र, वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई पनि सीआईबीले पक्राउ गरिसकेको छ। उनीहरूलाई बाँके लगेर सोधपुछ गरिएको थियो।

अनुसन्धानको क्रममा राष्ट्र बैंकसँग कर्मचारी विवरण माग्दा सुरुवाती चरणमा केही विवाद र तनाव उत्पन्न भएको थियो। उक्त विषयमा गभर्नर विश्व पौडेलले समेत सीआईबीका उच्च अधिकारीहरूसँग छलफल गरेका थिए।

यो घोटालाको अनुसन्धान डीएसपी दान थापाको नेतृत्वमा सीआईबीको टोलीले गरिरहेको छ। सरकारी वकिल कार्यालयबाट मुद्दा दर्ता भएपछि दोषीहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि बढ्ने सीआईबीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार