काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ भएपछि मानव तस्करहरूले भिजिट भिसामा नेपाली महिलालाई विदेश पठाउन भारतको पश्चिम बंगालस्थित बागडोग्रा र सिंगापुरको सिंगापुर चांगी विमानस्थलको प्रयोग गर्न थालेका छन्। भिजिट भिसामा नेपाली महिलाललाई खाडी मुलुकमा पठाउन नेपालका विमानस्थलबाट कठिन हुन थालेपछि सिलगुडी हुँदै बागडोग्रा र सिंगापुर चांगी विमानस्थलमा पुर्याएर उडाउन थालिएको एक म्यानपावर व्यवसायीले जानकारी दिए।
‘नेपालको विमानस्थलबाट निकै कठिन भयो, त्यसकारण जता सहज हुन्छ उतैबाट पठाउने हो। कहिले दिल्ली एयरपोर्ट त कहिले बागडोग्रा एयरपोर्टबाट पठाउने गरिन्छ,’ ती व्यवसायीले भने। ती व्यवसायीका अनुसार पछिल्लो पटक अलि बढी पैसा तिर्न तयार हुने नेपालीलाई सिंगापुर चांगी एयरपोर्टबाट पनि विदेश पठाउन थालिएको हो।
‘दिल्ली रुट’ प्रयोग गरेर विदेश पठाउन लागिएका ४७ नेपाली महिलालाई गत बुधबार साँझ भारतको दिल्लीस्थित विमानस्थलबाट उद्धार गरेर नेपाल ल्याइएको थियो। उनीहरूलाई पनि बागडोग्रा एयरपोर्टबाट पठाउन लागिएको थियो। तर दिल्लीको टिकट काटिएकाले उनीहरू त्यहाँ फेला परेका थिए। उनीहरूका साथमा कोलकाता विमानस्थल प्रयोगका लागि तयार पारिएको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) भेटिएको छ।
‘दिल्लीबाट उद्धार गरिएका महिलाहरूमा कोलकाता विमानस्थलको एनओसी भेटिएको छ। केहीले च्यातेर नष्ट गरेको पनि पाएका छौं,’ मानव बेचबिखन नियन्त्रण ब्युरोले जनाएको छ। यो विषयमा ब्युरोले पीडितहरूबाट जाहेरी लिएर अनुसन्धान सुरु गरिसकेको छ। काठमाडौं जिल्ला अदालत स्रोतले दिएको जानकारीअनुसार ४७ महिलामध्ये १९ जनाले जाहेरी दिएका छन्।
उनीहरूले जाहेरी दिएपछि प्रहरीले आशंकित व्यक्तिहरूको खोजी सुरु गरेको छ। भिजिट भिसामा खाडी मुलुक पठाउन लागिएका ती महिलाहरूलाई नेपाल प्रहरी र दिल्लीस्थित नेपाली राजदूतावासको पहलमा उद्धार गरिएको थियो।
भिजिट भिसा दुरूपयोग गरी मानव तस्करी बढेको गुनासोपछि गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा सुधारको कदम चालेको थियो। विमानस्थलबाट कडाइ हुन थालेपछि मानव तस्करहरूले वैकल्पिक माध्यम र मार्ग प्रयोग गर्न थालेका हुन्। ‘दुबई, दिल्लीमा रहेका मानव तस्कहरूले भिजिट भिसाको दुरूपयोग गर्ने र सोही अनुकूलको हवाई रुट प्रयोग गरेको देखिन्छ,’ मानव बेचबिखन नियन्त्रण ब्युरोमा कार्यरत एक अनुसन्धान अधिकृतले भने।
उनका अनुसार अहिले पनि दिल्लीबाट उद्धार गरिएका महिलाहरूसँग बयान लिने काम भइरहेको छ। ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीले उनीहरूबाट आएको सूचनाका आधारमा अनुसन्धान भइरहेको बताए। ‘अहिले अनुसन्धान भइरहेको छ, अनुसन्धान भइरहेको विषयमा थप जानकारी दिन मिल्दैन,’ ब्युरो प्रमुख एसएसपी पंगेनीले भने।
उद्धार गरिएका महिलाहरूले दिएको सूचनाका आधारमा गिरोहका केही व्यक्तिको पहिचान भइसकेको छ। पहिचान भएकाहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। साथै किटानी जाहेरी परेकाले केही व्यक्ति भारतमै रहेको र उनीहरूलाई पनि त्यहाँको प्रहरीमार्फत पहिचान गर्ने काम गरिरहेको छ। ‘दुबई र भारतमा दलालहरू छन्। उनीहरूको पहिचान गर्ने गरी काम भएको छ,’ स्रोतले भन्यो, ‘मान्छेको हुलिया खुलेको छ तर उनीहरू कहाँ छन् भन्नेचाहिँ खुलिसकेको छैन।’
भिजिट भिसामार्फत मोटो रकम लिएर खाडी मुलुकमा पुर्याएर अलपत्र पार्ने क्रम नरोकिएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बेलाबखत छापा मारेर कर्मचारीमाथि अनुसन्धान गर्ने गरेको छ। धेरै मानिस विदेशमा रोजगारी वा राम्रो जीवनस्तरको आशामा विभिन्न मुलुकको भिजिट भिसा लिएर जाने गरेको र त्यही भिसा दुरूपयोग गरी उनीहरूलाई गैरकानुनी तरिकाले जबर्जस्ती श्रममा लगाइने वा मानव बेचबिखनमा संलग्न गरिने जस्ता क्रियाकलापहरू भएको पाइएपछि यसको व्यापक आलोचना हुँदै आएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा विदेश जानेहरूसँग रकम असुली गरिएको प्रकरणमा अध्यागमन कार्यालयका १५ कर्मचारीलाई पछिल्लो पटक अन्यत्र सरुवा गरिएको थियो। त्यहाँ गृह मन्त्रालयमातहतबाट नयाँ कर्मचारी खटाइएको छ। अहिले विमानस्थल अध्यागमन प्रमुखमा नरहरि घिमिरेलाई खटाइएको छ।
घिमिरे यसअघि अख्तियारका प्रवक्ता थिए। भिजिट भिसा प्रकरणमा तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई पक्राउ गरेको सोधपुछपछि अख्तियारले हाल हाजिरीजमानीमा राखेर अनुसन्धान गरिरहेको छ। अध्यागमनका यसअघिका कर्मचारीहरू पनि अनुसन्धानको दायरामा छन्। अध्यगमन विभागममा अहिले गृह मन्त्रालयबाट रामचन्द्र तिवारीलाई पठाइएको छ।
भट्टराईबाट नियन्त्रणमा लिइएका उपकरणमाथि छानबिन चलिरहँदा सेटिङमा संलग्न रहेको आंशकामा अध्यागमनमा कार्यरत आठ कर्मचारीलाई सुरुमै सरुवा गरिएको थियो। भिजिट भिसामा सेटिङ गरेर पठाएको आरोपपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा थप कडाइ गरिएको छ।
अब अध्यागमन कार्यालयका कर्मचारीले आफू कुन ठाउँमा ड्युटीमा खटिनुपर्ने भन्ने जानकारी १५ मिनेटपहिले मात्रै पाउने भएका छन्। अख्तियार स्रोतका अनुसार भिजिट भिसामा विदेश जानेहरूसँग प्रतिव्यक्ति २० हजारदेखि ४० हजार रूपैयाँसम्म असुलेर गिरोहको सेटिङमा दुबईलगायत मुलुकमा पठाउने गरेको उजुरीका आधारमा भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो।
अख्तियारले यतिबेला अध्यागमन कार्यालय, श्रम विभाग, ट्राभल एजेन्सी, कन्सल्टेन्सी, होटल, एयरलाइन्स र म्यानपावर कम्पनीलाई निसानामा राखेर अनुसन्धान गरिरहेको छ। भिजिट भिसाको मूल उद्देश्य घुमफिर, पारिवारिक भेटघाट वा छोटो अवधिको व्यापारिक भ्रमण भए पनि नेपालबाट यसको दुरूपयोग भएपछि संसद् र बाहिर पनि यसको व्यापक विरोध हुँदै आएको छ। विमानस्थलको अध्यगमन कार्यालय सुधार गर्न भनेर मन्त्रालयले त्यहाँ कार्यरत पुराना कर्मचारीहरूको ‘सेटिङ’ तोड्न लोकसेवा आयोगबाट हालै सिफारिस भएका ४४ जना नयाँ अधिकृतलाई खटाइएको छ।
यसैगरी अध्यागमन विभागले विमानस्थलमा सर्भर डाउन भएको बहानामा शंकास्पद गतिविधि हुन नदिन साउन १ गतेदेखि वैकल्पिक ‘डाटा सेन्टर’समेत स्थापना गरेको छ। यसले गर्दा सरकारी एकीकृत डाटा सेन्टर (जिआइडिटी) मा समस्या आए पनि विमानस्थलको सेवा प्रभावित नहुने विभागले जनाएको छ। विमानस्थलमा कडाइ भएपछि ट्राभल एजेन्सीहरूले सेटिङ मिलाएर नेपालीलाई विदेश पठाउन नसक्ने अवस्था आएको छ।
आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया