तुर्कमेनिस्तान : प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन तुर्कमेनिस्तानको अवाजा सहर आइपुगेका छन्।
प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल स्थानीय समयअनुसार दिउँसो २ः३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवाजा सहरस्थित तुर्कमेनवासी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
अवतरणपछि प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तान सरकारका उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा लगायतले स्वागत गरेका थिए।
एलएलडिसी सम्मेलन यही साउन २० देखि २३ गतेसम्म (अगस्ट ५–८) अवाजा सहरमा आयोजना हुँदैछ।
सम्मेलनमा विश्वका भूपरिवेष्ठित राष्ट्रहरूका नेताहरूले समावेशी, दिगो विकास, जलवायु संकट, पारवहन सुविधा, र अन्तर्राष्ट्रिय साझेदारीका विषयमा छलफल गर्नेछन्। प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नुका साथै विभिन्न राष्ट्र नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
राससको सहयोगमा
प्रतिक्रिया