उदयपुर : जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लाभित्रको स्वास्थ्य सेवा क्षेत्रमा कडाइ गरेको छ ।
मापदण्ड विपरीत सञ्चालन भइरहेका औषधि पसल र मेडिकल हलहरूलाई नियन्त्रणमा लिन सोमबार गरिएको अनुगमनमा प्रशासनले एक मेडिकल हलमा ताला लगाएको छ भने तीन मेडिकललाई जरिवाना गरिएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेयको नेतृत्वमा चौदण्डीगढी नगरपालिका क्षेत्रका मेडिकलहरूमा गरिएको छड्के अनुगमनमा पाथीभरा डेन्टल क्लिनिक, शुभम् डेन्टल प्रा.लि., र दिव्यान्स फार्मेसीलाई बिना दर्ता प्रमाणपत्र सञ्चालन गरिरहेको पाइएपछि जरिवाना गरिएको हो ।
त्यस्तै, चौदण्डीगढी–४, बसाहा स्थित महेन्द्र मण्डलद्वारा सञ्चालित बीज मेडिकल हलमा मापदण्ड विपरीत सेवा दिइएको भेटिएपछि प्रशासनले ताला लगाएर सेवा स्थगित गरिदिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेयका अनुसार, “अवैधानिक रूपमा सञ्चालित बीज मेडिकलमा तत्काल ताला लगाइएको हो, अन्य मेडिकलहरूलाई समेत कडाइका साथ अनुगमन गरिनेछ ।”
अनुगमन टोलीले बेल्टार बजार, बसाहा लगायतका क्षेत्रमा सञ्चालित दर्जनौँ मेडिकलमा म्याद समाप्त भएका औषधी समेत फेला पारी जफत गरेको छ ।
स्वास्थ्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय र स्थानीय पालिकाको संयुक्त टोलीले उक्त अनुगमन गरेको हो ।
पछिल्लो समय उदयपुरमा मापदण्ड विपरीत सञ्चालन भएका मेडिकलहरूबारे व्यापक गुनासो आएपछि प्रशासनले कारबाही सुरु गरेको हो ।
“अब सबै मेडिकल हल मापदण्ड अनुसार सञ्चालनमा ल्याइनेछ, नत्र कानुनी कारबाही हुनेछ,” पाण्डेयले चेतावनी दिए ।
प्रशासनले अवैध मेडिकल सञ्चालन गरिरहेका अन्य संस्थालाई समेत तुरुन्त सुधार गर्न अन्तिम चेतावनी दिएको छ ।
प्रतिक्रिया