सप्तरी : सप्तरीको नेपाल–भारत सीमावर्ती क्षेत्रमा मदिरा तस्करी नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
राजगढ गाउँपालिका–२ का २५ वर्षीय लालु यादवको राति मृत्यु भएको हो । प्रहरीका अनुसार सीमावर्ती क्षेत्र हुँदै भारततर्फ मदिरा तस्करी भइरहेको सूचना पाएपछि सशस्त्र प्रहरी र मधेस प्रदेश प्रहरीको संयुक्त टोलीले अप्रेसन चलाएको थियो ।
मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार सर्च अपरेसनका क्रममा तस्कर समूहसँग भएको झडपमा लालु यादवको तिघ्रामा गोली लागेको थियो । उनलाई उपचारका लागि लगिँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
प्रहरीले झडपका क्रममा स्थिति नियन्त्रणमा लिन ७ राउन्ड गोली चलाएको जनाएको छ । घटनास्थल सप्तरीको राजगढ गाउँपालिका क्षेत्र अन्तरगत नेपाल–भारत सीमा नजिकै रहेको बताइएको छ ।
स्थानीय बासिन्दाहरूले रातिको समयमा गोली चल्दा त्रास बढेको बताएका छन् भने घटनापछि सीमावर्ती क्षेत्रमा प्रहरी परिचालन थप कडा बनाइएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया