मंगलबारेमा निकालियो रोपाइँजात्रा

बुधबार, २८ साउन २०८२

इलाम : इलामको मंगलबारेमा रोपाईजात्रा निकालिएको छ । भानुभक्त माविको आयोजनामा जात्रा निकालिएको हो । विभिन्न जातजातिका पोसाकमा सजिएका युवायुवतीले रोपाहार र बाउसेको अभिनय गर्दै जात्रा निकालिने गरिन्छ । 

पञ्चेबाजाको तालमा सङ्गीतमय रोपाइँ गरिने गरिन्छ । बिस २०१८ सालबाट सुरु भएको जात्रा तत्कालीन माओवादी द्धन्द र कोरोनाकामा गरी दुई वर्ष निकालिएन । नत्र अन्य समयमा निरन्तर जात्रा निकालिँदै आइएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पूर्व प्रधानाध्यापक प्रकाशचन्द्र खनालले बताए । उनका अनुसार सांस्कृतिक पर्वका रूपमा यो जात्रा निकालिने गरिन्छ । 

मंगलबारेमा रोपाइँजात्राकालागि देउमाई नगरपालिका सहयोग समेत गर्दै आएको छ ।  

५० वर्ष अघिदेखि मनाउन सुरु गरिएको यो पर्व जनै पूर्णिमा पछिको बुधवार लाग्ने हटियाको अवसरमा मनाइने गरिन्छ । जात्रामा विभिन्न किसिमका मौलिक परम्परा र जातीय झाँकी प्रदर्शन गर्ने गरिन्छ ।
किसानले रोपाइँ सकेपछि फुर्सदको समयसँगै रमिता हेरेर थकान मेटाउन समेत रोपाईजात्रा निकालिने गरिन्छ ।

वास्तविक किसानले हटियाको दिन मङ्गलवारे बजारमा रोपाइँ जात्राको अवलोकनपछि आफूहरूले बर्खामा गरेको दुःख भुल्न समेत यसले मद्दत गर्ने गरेको किसानहरूको भनाइ छ ।

पञ्चै बाजाको तालमा रोपाहार र बाउसेले बजार बिचमा रोपाइँको अभिनय गरेर यो पर्व मनाउने गरिन्छ । मंगलबारेमा निकालिने रोपाइँजात्रा विशिष्ट किसिमको हुने भएकाले आन्तरिक पर्यटकहरूको समेत उल्लेख्य उपस्थिति रहन्छ ।

सुरुमा विद्यालयको स्थिति नाजुक रहेको अवस्थामा रकम जुटाउन र शिक्षकलाई तलब खुवाउनका लागि सहयोग सङ्कलन गर्न जात्रा निकाल्न थालिएको विद्यालयमा प्रधानाध्यापक वासुदेव कट्टेलले बताए । उनका अनुसार एकै पटक करिब एक बजार कलाकारले विभिन्न अभिनय गरेर जात्रा निकालिने गरिन्छ । 

विद्यार्थीहरूले रोपाहार, बाउसेलगायत साधु, जोगी, मुङ्ग्रे, सहित जातीय झाँकी प्रदर्शन गर्ने गर्दछन् । 

सङ्गिनी, बालन लगायतका संस्कृति झल्कने विभिन्न प्रस्तुतिले यहाँको वातावरण सङ्गीतमय बन्छ । जात्रा हेर्नका लागि देउमाई नगरपालिका सहित फाकफोकथुम गाउँपालिका, इलाम नगरपालिका लगायतका क्षेत्रबाट पर्यटकको उल्लेख्य उपस्थिति रहेको थियो । 

रोपाइँको झल्को दिन अघि–अघि गोरु हली र बाउसे तथा पछि–पछि रोपारले धान रोपेझैँ गरेर यो जात्रा मनाइने गरिएको शिक्षक अर्जुन फयलको भनाई छ ।

त्यस्तै इलामको माइजोगमाईको नामसालिङ र देउमाई नगरपालिकाकै जितपुर माई नगरपालिकाको शुक्रबारे बजारमा पनि यो जात्रा निकालिने गरेको छ । 

इलाममा बिहीबार यो जात्रा निकालिने छ । जात्रा नेपाल भाषा तथा संस्कृति समाज इलामको आयोजनामा निकालिने गरिन्छ । जात्राको सबै तयारी पुरा भएको आयोजक समितिका अध्यक्ष प्रवीण श्रेष्ठले बताए ।

प्रतिक्रिया

टीका खतिवडा
लेखकको बारेमा
टीका खतिवडा

इलामबाट पत्रकारिता गर्ने खतिवडा, प्रदेश खबरका लागि समेत कलम चलाउँछन् ।

सम्बन्धित समाचार