काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीबीच कतारमा भेटवार्ता भएको छ ।
भेटवार्तामा नेपाल–कतारबीच आर्थिक तथा व्यवसायिक सम्बन्ध सुदृढ गर्ने, आपसी सहकार्यलाई नयाँ स्तरमा पुर्याउने विषयमा छलफल भएको थियो । सो अवसरमा नेपाल–कतार संयुक्त व्यापार परिषद् (जेबीसी) को आगामी बैठक छिट्टै काठमाडौंमा आयोजना गर्ने सहमति भएको महासंघका अध्यक्ष ढकालले जानकारी दिए ।
ढकालले नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) दुवै देशबीच व्यापार तथा लगानी प्रवद्र्धनको महत्वपूर्ण संयन्त्र बनेको उल्लेख गर्दै यसलाई अझ प्रभावकारी बनाउन सदस्य सूचीलाई शीघ्र अन्तिम रूप दिनुपर्नेमा जोड दिए । उनले कतारको सहकार्यको प्रशंसा गर्दै नेपालमा लगानीका प्रशस्त अवसर रहेको बताउँदै कतारी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे । “नेपालमा धेरै क्षेत्रमा लगानीको अवसर छ । म कतारी लगानीकर्ताहरुलाई जलविद्युत, सौर्य ऊर्जा, सूचना प्रविधि, फिनटेक तथा कृषि–आधारित उद्योगमा लगानीको लागि आग्रह गर्दछु,” ढकालले भने ।
महासंघले अघि बढाइरहेको डिजिटल रूपान्तरण अभियानलाई जोड दिँदै उनले कतार चेम्बरसँग सहकार्य महत्वपूर्ण हुने बताए । एआई–आधारित व्यवसायिक सुविधा उपकरण, ब्लकचेन–आधारित व्यापार कागजीकरण प्रणाली, व्यवसाय मिलान तथा लगानी प्रवद्र्धनका लागि डिजिटल प्लेटफर्ममा ज्ञान आदानप्रदान गर्न प्रस्ताव राख्दै उनले भने, “उन्नत डिजिटल प्रविधि अपनाउने कतारको अनुभवबाट पाएको तपाईंहरूको समर्थनले महासंघलाई आधुनिक, प्रविधि–मैत्री संस्था बनाउन अमूल्य सहयोग पु¥याउनेछ ।”
त्यस अवसरमा कतार चेम्बरका अध्यक्ष अल थानीले नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) लाई शीघ्र अन्तिम रूप दिई थप प्रभावकारी बनाइने बताए । उनले नेपालसँग आर्थिक तथा व्यवसायिक सम्बन्ध सुदृढ बनाउन पहल गर्ने र यस प्रकारका भेटघाट तथा छलफललाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको ढकालले जानकारी दिए ।
यसैबीच ढकालले कतार चेम्बर र कतारी व्यवसायिक समुदायलाई सन् २०२६ को फेब्रुअरीमा काठमाडौंमा आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय आर्थिक शिखर सम्मेलन (एनआईईएस) मा सहभागी हुन आमन्त्रण गरे । दुई देशबीच आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले सम्मेलनमा विशेष “कतार केन्द्रित लगानी सत्र” आयोजना गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए ।
ढकालले भने, “लगानी, नवप्रवर्तन र सहकार्यमार्फत नेपाल–कतार साझेदारीलाई नयाँ उचाइमा पु¥याउन सकिन्छ । नेपाली उत्पादन चिया, कफी, अलैंची, जडीबुटी तथा प्रशोधित खाद्यवस्तु जस्ता कृषि उत्पादनलाई कतारको बजारमा पुर्याउने ठूलो सम्भावना छ ।” उनले यी उत्पादनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रमाणिकरण, मानकीकरण र संयुक्त ब्रान्डिङ्ग पहलमा सहकार्य गर्न प्रस्ताव गरे ।
भेटका अवसरमा कतार चेम्बरका अध्यक्ष अल थानीसहित कतार चेम्बरका उच्च पदाधिकारी र व्यापारीहरू पनि सहभागी थिए ।
प्रतिक्रिया