काठमाडौं । माछापुच्छ्रे बैंकको विराटचोक शाखामा आइतवार राति आगलागी भएको छ। राति करिब १०ः४५ बजे बैंक नजिकैको विद्युतीय पोलमा आगलागी भएपछि उक्त शाखामा समेत आगो सल्किएको हो।
बैंकका सूचना अधिकारी सुनिल खतिवडाका अनुसार आगलागीबाट बैंकको प्रणाली कक्ष (सिस्टम रुम) पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। यद्यपि, अन्य भागहरूमा भने ठूलो क्षति नपुगेको उनले जानकारी दिए।
“पोलमा आगो लागेपछि त्यसको असर बैंकसम्म पुगेको हो,” खतिवडाले भने, “सिस्टम रुम ड्यामेज भएको छ, तर अन्य क्षेत्रमा खास क्षति छैन।”
आगलागीपछि दमकल बोलाएर आगो तत्काल नियन्त्रणमा लिइएको र मंगलवारदेखि शाखा पुनः सञ्चालनमा ल्याउने काम भइरहेको उनले जानकारी दिए।
“हिजो नै दमकल आएर आगो निभाइसकेको हो,” उनले भने, “मंगलवारदेखि शाखा नियमित रूपमा सञ्चालनमा आउनेछ।”
प्रतिक्रिया