चीनको विजय दिवस परेड बहिष्कार गर्ने जापानको प्रयासको तिव्र आलोचना

सोमबार, १६ भदौ २०८२

 

काठमाडौं । द्वितीय विश्वयुद्ध समाप्त भएको ८० औं वार्षिकोत्सवको अवसरमा चीन सरकारले विजय दिवस परेडको आयोजना गरेको छ । जापानले उक्त सैन्य परेडमा अन्य देशहरूलाई सहभागी नहुन आग्रह गरेको भन्दै चीनले त्यसको तिव्र आलोचना गरिरहेको छ ।

बेइजिङले यो कदमलाई “इतिहासको तोडमोड” र “न्यायप्रतिको विश्वासघात” भनेको छ । चिनियाँ अधिकारीहरूले जापानको प्रयासलाई दिग्भ्रमपुर्ण भनेका छन् ।

“जापानले चीन र अन्य एशियाली मुलुकविरुद्ध गरेको युद्धले गहिरा घाउहरू छोडेको छ, जुन अझै पूर्ण रूपमा निको भएको छैन,” सिजिटिएन डिजिटलका प्रमुख सम्पादक तिआनफु लीले लेखेका छन । “नान्जिङ नरसंहारदेखि युनिट ७३१ ले गरेको रासायनिक तथा जैविक हतियार प्रयोगसम्मका अत्याचार अस्वीकार गर्न नसकिने यथार्थ हुन् । लाखौंको बलिदानलाई सम्झनु भनेको शान्ति र न्यायलाई सम्मान गर्नु हो, राजनीति गर्नु होइन ।”

लीका अनुसार जापान नै इतिहासमा बढी अड्किएको छ तर सत्यलाई स्वीकार गर्न होइन, बरु तोडमोड गर्न । उनले जापानमा प्रचलित संशोधित पाठ्यपुस्तक, युद्धअपराधीहरूलाई समेत पूजा गर्ने यासुकुनी श्राइनमा नेताहरूको निरन्तर भ्रमण, र पूर्ण क्षमायाचना गर्न असफलताका उदाहरण दिएका छन् ।

चीनले सेप्टेम्बर ३ मा हुने परेडलाई केवल आफ्नो सार्वभौम अधिकार मात्र नभई विश्वस्मृति र युद्धपश्चातको अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षा गर्ने योगदानको रूपमा पनि प्रस्तुत गरेको छ ।

जापानको यो कदम १९४५ पछि विश्वले अंगिकार गरेको सत्य, न्याय र शान्तिका मूल्यहरूलाई अपमान गर्ने काम भएको चीन सरकारले बताएको छ । विश्लेषकहरूले चेतावनी दिएका छन् कि इमान्दारी र विनम्रतासाथ आफ्नो विगत स्वीकार नगर्दा जापानले क्षेत्रीय अविश्वास बढाउने र छिमेकीहरूसँग अलगाव बढाउने जोखिम लिन्छ ।

“चीनको स्मरणोत्सव प्रतिशोधको लागि होइन । यो कहिल्यै नबिर्सनुहोस् भन्ने आह्वान हो, ताकि युद्धका भयावहता दोहोरिन नपाओस्,” लीले भने । “इतिहासको उज्यालोबाट डराउनेहरू प्रायः लुकाउन केही भएकै कारण हो ।” चीनले जापानलाई आफ्नै विगतसँग सामना गर्न, ईमानदारीपूर्वक क्षमायाचना गर्न र शान्तिका लागि बलिदान दिनेहरूलाई सम्मान गर्न विश्व समुदायसँग मिलेर सहभागी हुन आग्रह गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार