महोत्तरी : महोत्तरीको पिपरा गाउँपालिका–६ स्थित आदर्श माध्यमिक विद्यालय रतौलीका दर्जनौं विद्यार्थी खाजामा छेपारो भेटिएपछि बिरामी परी अस्पताल भर्ना भएका छन् ।
बिहीबार दिउँसो करिब १ बजे विद्यालयमा दिवा खाजा खुवाउने क्रममा विद्यार्थीलाई दिइएको सुजीको हलुवामा मरेको छेपारो भेटिएको हो । छेपारोको शरीरका विभिन्न अंग छुट्टाछुट्टै रूपमा विद्यार्थीहरूको थालामा देखिएपछि उनीहरूले खाजा बनाएर दिने विद्यालयकी महिला कर्मचारीलाई जानकारी गराउँदा उल्टै हप्काएको विद्यार्थीहरूले बताएका छन् ।
घटनाबारे गाउँका व्यक्तिलाई अवगत गराएपछि विद्यार्थीका अभिभावकसहित गाउँवासी विद्यालय पुगेका थिए । सो क्रममा आक्रोशित अभिभावक र स्थानीयले विद्यालयका प्रधानाध्यापक दिनेश दासमाथि चप्पल प्रहार गरेका थिए । साथै, उनीहरूले विद्यालयका कुर्सी, टेबुल र ढोका तोडफोड गर्दै आक्रोश व्यक्त गरेका छन् ।
स्थिति तनावपूर्ण बनेपछि नजिकैको प्रहरी चौकीबाट प्रहरी टोली विद्यालय पुगेर अवस्था नियन्त्रणमा लिएको छ ।
यसबीच, खाजा खाएपछि दर्जनौं विद्यार्थी बेहोस हुन थालेपछि अभिभावकहरूले आफ्ना बालबालिकालाई प्रादेशिक अस्पताल जनकपुरमा लगेर उपचार गराइरहेका छन् । अस्पतालले उनीहरूको स्वास्थ्य परीक्षण भइरहेको जनाएको छ ।
प्रतिक्रिया