विराटनगर । गत सोमबार बिहान कलेजबाट फर्किँदै गरेका १८ वर्षीय श्रीयम चौलागाईले आफ्नी बहिनीलाई ‘म केहीबेरमै घर आउँछु’ भनेका थिए ।
तर, त्यो उनको अन्तिम वाक्य बन्यो । बानेश्वरमा गाडीबाट ओर्लिएका उनी माइतीघर मण्डलामा भइरहेको जेनजी आन्दोलनतिर तानिए । सुशासन र भ्रष्टाचारविरुद्धको नाराले उनलाई भावनात्मक बनायो । तर, आन्दोलनकै बीचमा प्रहरीले चलाएको गोली टाउकोमा लाग्दा उनले ज्यान गुमाए ।
मोरङको लक्ष्मीमार्ग घर भएका श्रीयम केही वर्षअघि इटहरीबाट प्रवेशिका सकेर काठमाडौं पुगेका थिए । हाल ग्लोबल कलेजमा अध्ययनरत उनी काँडाघारीमा बस्दै आएका थिए । राजनीतिको सक्रियता कम भए पनि आन्दोलनको घोषणाले उनलाई आकर्षित गरेको थियो ।
मामा केशव कार्की भन्छन्, ‘पढाइमा तेज भान्जा राजनीतिमा खासै लागेका थिएनन् । तर, आन्दोलनको नारा सुनेपछि त्यहीँ पुगेछन् । देशलाई निकास दिनुपर्छ भन्ने सोचले उनी माइतीघर पुगे । तर, कहिल्यै नफर्किने गरी गए ।’
परिवारका लागि त्यो दिन कालो दिन बन्यो । परिवार र आफन्तबाट श्रीयमको पर्खाइ भइरहँदा केशव आफैं ट्रमा सेन्टर पुगे । त्यहाँ मृतकको सूचीमा श्रीयमको नाम सातौँ नम्बरमा देख्दा उनी स्तब्ध भए । ‘सम्हालिन सकिनँ । सँगै हुर्काएको, सँगै पढाएको, सँगै हिँडेको सम्झिँदा मन भतभती पोल्यो । घरमा खबर गर्ने हिम्मत जुटाउन धेरै समय लाग्यो,’ उनले स्वर भारी बनाउँदै भने ।
तर, ४ दिन बितिसक्दा पनि परिवारले शव पाएको छैन । हाल शव भद्रकालीस्थित सुरक्षा निकायको नियन्त्रणमा राखिएको जानकारी मात्रै पाएको छ । यसबीच श्रीयमका बुबा गणेश चौलागाईंले सामाजिक सञ्जालमार्फत अपिल गरेका छन्, ‘जेनजीको नेतृत्व गर्नु हुनेहरुलाई सहिद परिवारको अनुरोध छ । हामीले हाम्रा छोराको लास अझै पाएका छैनौं । कम से कम लास दिनुहोस् । त्यो नै हाम्रा लागि ठूलो सहयोग हुनेछ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसके पनि नयाँ सरकार गठन प्रक्रियामा जेनजी नेतृत्व नै अन्योलमा परेको छ । यता मृतकका परिवार भने दिनरात लासको प्रतीक्षासँगै पीडामा छन् । श्रीयमका मामा केशव भन्छन्, ‘यो केवल श्रीयमको कुरा होइन । आन्दोलनमा ज्यान गुमाएका सबै युवालाई सहिद घोषणा गर्नुपर्छ । तर, अहिलेसम्म हाम्रो पीडामा कोही नेतृत्वसँगै उभिन सकेको छैन ।’
उनका अनुसार श्रीयमको परिवार र आफन्तले गुमाएको भविष्य एवं आशा कुनै शक्तिले फर्काउन सक्दैन । तर, उनीहरूको अन्तिम माग एउटै छ, ‘श्रीयमको शव फर्काइदेऊ । कम से कम सहिदको सम्मान त गरिदेऊ, जेनजी ।’
प्रतिक्रिया