प्रतिनिधिसभा विघटन असंवैधानिक : नेपाल बारको निष्कर्ष

शनिबार, २८ भदौ २०८२

काठमाडौँ : नेपाल बार एसोसिएसनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदमको संज्ञा दिएको छ ।

प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको कदम सार्वजनिक भएको केहीबेरमै बारले विज्ञप्ति जारी गर्दै त्यसप्रति कडा आपत्ति जनाएको हो ।

बारले उक्त निर्णयलाई स्वेच्छाचारी र संविधानवादमाथि प्रहार भएको ठहर गर्दै यसले संवैधानिक सर्वोच्चतालाई कमजोर बनाएको आरोप लगाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको कदम सर्वोच्च अदालतको यसअघि भएको संसद् पुनर्स्थापना सम्बन्धी निर्णय विपरीत छ।”

नेपाल बारले विघटनको कदमले लामो सङ्घर्षपछिको लोकतान्त्रिक मूल्य–मान्यतालाई क्षति पु¥याएको र सङ्घीयताको उपलब्धि खोज्ने प्रयास भएको टिप्पणी गरेको छ । साथै, यस्तो अभ्यासले जनविश्वास घटाउने र मुलुकको संवैधानिक व्यवस्थाको जग खतरामा पार्ने ठहर बारको छ ।

कुनै पनि बहानामा हुने पञ्चगामी कदमलाई अस्वीकृत गर्ने बताउँदै बारले सबैलाई यसको विरोधमा एकजुट हुन आह्वान गरेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको विज्ञप्ति बार अध्यक्ष डा. विजय प्रसाद मिश्र र महासचिव केदारप्रसाद कोइरालाले संयुक्त रूपमा जारी गरेका हुन् ।

619320f3-db69-4040-acaa-7983a92c16ab

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार