‘पहिलो महिला प्रधानमन्त्री पाउनु राष्ट्रको गौरव’

शनिबार, २८ भदौ २०८२

काठमाडौँ । विघटित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी सुशीला कार्कीलाई बधाई दिएकी छन्।

पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिए लगत्तै रानाले सार्वजनिक गरेको बधाई सन्देशमा यो उपलब्धि सम्पूर्ण नेपाली महिलामात्र नभई राष्ट्रकै गौरवको विषय भएको उल्लेख छ।

रानाले कार्कीको राजनीतिक, सामाजिक र कानुनी क्षेत्रमा महिलाको अधिकार, समानता र सशक्तीकरणका लागि लामो समयसम्म गरिएको सङ्घर्ष, इमानदारिता र निष्पक्ष योगदानको प्रशंसा गर्दै भनिन्, “महिलाको क्षमता र नेतृत्वप्रति विश्वास जगाउँदै नेपालको लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउन तपाईँको कार्यकाल ऐतिहासिक साबित हुने विश्वास लिएको छु।”

उनले संविधानले सुनिश्चित गरेका महिला अधिकार, समावेशिता, न्याय र सुशासनका सवालमा कार्कीको नेतृत्वले मुलुकलाई नयाँ ऊर्जा दिने अपेक्षा व्यक्त गरिन्।

जेन–जी आन्दोलनका क्रममा कलिला बालबालिकाको बलिदानले आफूहरूलाई मर्माहत बनाएको र त्यही बलिदानको जगमा पहिलो महिला प्रधानमन्त्रीको इतिहास कोरिएको उल्लेख गरिन्।

रानाले हजारौँ आमाहरूको आँसुका बिच पनि महिलाको गौरवपूर्ण इतिहास रचिएकोमा खुसी व्यक्त गरेकी छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार