“ज्यान जोखिममा राखेर उद्योग सञ्चालन गर्न सकिँदैन” : उद्योगी पवन सारडा

शनिबार, २८ भदौ २०८२

विराटनगर । संविधान सभाका सदस्य तथा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले जेन–जी आन्दोलनपछि निजी क्षेत्र गम्भीर संकटमा परेको बताएका छन् । उनले आफ्नो र परिवारको ज्यान जोखिममा राखेर उद्योग व्यवसायी सञ्चालन गर्न नसकिने चेतावनी दिए ।

 सारडाले आन्दोलनको क्रममा उद्योग, व्यवसाय, होटेल र कार्यालयमाथि भएको तोडफोड र आगजनीलाई निन्दनीय बताए । उनका अनुसार कतिपय ठूला उद्योगीहरू पर्खालबाट हामफालेर वा आफन्तको शरणमा गएर ज्यान जोगाउन विवश भए ।

सारडाले भने, “निजी क्षेत्र अहिले मानसिक रूपमा क्षतविक्षत छ, मनोबल घटेको छ, नयाँ लगानी आउन सक्दैन, भएको लगानी विस्थापित हुने खतरा बढेको छ । सरकारले निजी क्षेत्रको मान–प्रतिष्ठा र सुरक्षाको ग्यारेन्टी गर्न नसके पलायन हुन्छ ।”

उनले स्मरण गरे, “कोभिड महामारीमा ज्यान जोखिममा राखेर खाद्यान्न आपूर्ति गर्ने निजी क्षेत्र आजै अपमानित र आक्रमित भयो ।” साथै, आन्दोलनमा सहभागी विद्यार्थीमाथि राज्यले गरेको दमनको पनि उनले निन्दा गरेका छन् ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार