हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाइन्छ । यस वर्ष ६१ औँ राष्ट्रिय बाल दिवस नारा ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ रहेको छ ।
घरपरिवार, समाज र राष्ट्रकै गहना बालबालिका हुन् । बालबालिका नभएको संसार त कल्पना पनि गर्न सकिँदैन । बालबालिकालाई राम्रोसँग हुर्कन, बढ्न, पढ्न, ज्ञान तथा सिप सिक्न पाउने वातावरण बनाइदिनु र उनीहरूलाई कुनै पनि हेला, भेदभाव, दुर्व्यवहार, दुःख, अप्ठ्यारो आदिमा पर्नबाट बचाउनु अभिभावक, समाज एवं सरकारको काम हो ।
त्यसैले सबैले बालबालिकाको हित भलाइका लागि काम गर्नु पर्छ भन्ने कुरा सम्झाइरहन, बालबालिकाका निम्ति के कस्ता राम्रा काम भए, के हुन सकेनन् भनेर छलफल गर्न हरेक वर्ष बाल दिवस मनाइन्छ । यति मात्रै होइन बालबालिकाले पनि नयाँ ज्ञान, खेल, मनोरञ्जन गर्न पाउन्, आफ्ना क्षमता देखाउन पाउन्, अधिकारबारे थाहा पाउन्, खुसी–रमाइलो गर्न पाउन् भनेर हरेक वर्ष बाल दिवस मनाइन्छ ।
नेपालमा २०२२ सालदेखि राष्ट्रिय बाल दिवस मनाउन थालिएको हो । देशमा राजाले शासन गरेको त्यस बेलामा तत्कालीन बडामहारानी रत्न शाहको जन्म दिन अर्थात् भदौ ४ गते बालबालिकालाई मिठाई, फलफूल बाँडेर र बडामहारानीको अगाडि नाचगान गरेर राष्ट्रिय बाल दिवस मनाइने गरिन्थ्यो ।
२०६२÷६३ सालको जनआन्दोलनबाट नेपालको शासन व्यवस्था परिवर्तन भयो । राजसंस्था रहेन, सङ्घीय गणतन्त्रात्मक व्यवस्था स्थापना भयो । बडामहारानीको जन्म दिन पारेर राष्ट्रिय बाल दिवस मनाउनु उपयुक्त नहुने भएकोले नयाँ मिति छनोट गर्नुपर्छ भन्ने चर्चा भयो ।
संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ लाई नेपालले अनुमोदन गरेको दिन भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने निर्णय भयो । त्यही अनुसार २०६३ सालदेखि राष्ट्रिय बाल दिवस हरेक वर्षको भदौ २९ गते मनाउन थालियो ।
बालबालिका कुनै पनि राष्ट्रको ढुकढुकी हुन् । उनीहरू बिना राष्ट्रको भविष्य अन्धकार हुन्छ भन्ने कुरा सबैले स्वीकार गरेका छौ । तर, यो वर्ष परिस्थिति अर्कै छ । देशमा चलिरहेको जेन्जी आन्दोलनका कारण सडकहरूमा धुलो र डर मात्र फैलिएको छ, अनि बालबालिकाको हाँसो आन्दोलनमा पोतिएको रगत, आन्दोलनको नारा र अश्रु धारामाझ हराएको छ ।
कक्षाकोठामा बालबालिकाले सोध्ने जिज्ञासु प्रश्नहरू, खेलमैदानमा उनीहरूको रमाइलो, कविता र गीतमा देखिने उनीहरूको आत्मविश्वास ती सब बन्द ढोकामाझ थुनिएका छन् ।
बालबालिकाले पुस्तक पल्टाउनु पर्ने बेला बन्द कोठा थुनिन बाध्य छन् । उनीहरूले आकाशमा रङ्गिन बेलुन उडाउनु पर्ने बेला सडकमा पोलिएको टायरको धुवाँ देखिरहेका छन् । उनीहरूका कानमा बाल गीत गुन्जिनुपर्ने बेला आन्दोलनको नारा गुन्जिरहेको छ ।
कक्षाकोठा सुनसान छन्।धुलोले भरिएको सडक देख्दा बालबालिकाको मुहारमा डर र पीडाको छाया छ । साना–साना हातहरूले पुस्तक र कापी समाउनुपर्ने बेला, उनीहरू नारा बोकेर सडकमा हिँडिरहेका छन् ।
बाल दिवस केवल उत्सव मात्र होइन । यो बालबालिकाको अधिकार र भविष्यको सुरक्षा सुनिश्चित गर्ने अवसर हो । उनीहरूको हाँसो, जिज्ञासा र खेलकुदको स्वतन्त्रता नै राष्ट्रको उज्यालो भविष्य हो । तर, यस वर्ष बाल दिवसमा विद्यार्थीहरू आन्दोलनको धुलो र डरले घरभित्र बस्न बाध्य छन् । साना आँखाहरूमा आशा झल्किनु पर्ने थियो, तर आज आँसु र पीडाले भरिएको छ ।
सडकमा उठेका नारा, टायर पोल्ने धुवाँ र आन्दोलनको चर्को आवाजबिच बालबालिका चुपचाप आकाशतिर हेर्छन् । उनीहरूले आफ्ना सपनालाई ढाक्ने धुलोमा आशा खोजिरहेका छन् ।
तर आशा हराएको छैन । सडकमा धुलो उडिरहेको बेला पनि, विद्यालयका ढोका बन्द भए पनि, शिक्षक, अभिभावक र समाजको माया र संरक्षणले बालबालिकाको सपनालाई ढाक्न सक्दैन । बालबालिकाको आँखामा फेरि हाँसो फुलाउने जिम्मेवारी हामी सबैको हो ।
त्यसैले बाल दिवसको वास्तविक सम्मान भनेको केवल कार्यक्रम र उत्सवमा होइन—सुरक्षित शिक्षा, खेलकुदको स्वतन्त्रता र बालबालिकाको उज्यालो भविष्य सुनिश्चित गर्नुमा छ । हामीले बालबालिकालाई आँसु होइन, आशा दिनु पर्छ । उनीहरूको हाँसो हाम्रो गौरव बन्नुपर्छ ।
अतः बालबालिका हाम्रो समाजको उज्यालो हो र उनीहरूको अधिकार सुनिश्चित गर्नु हाम्रो सबैको कर्तव्य हो । आन्दोलनको धुलो पन्छिएपछि, विद्यालयका ढोका फेरि खुल्नेछन्, खेलमैदानमा विद्यार्थीहरू फेरि हाँस्दै–गाउँदै फर्कनेछन् । तवः आशाको दियो पुनः बल्ने छन् । धुवाँमा मडारिरहेको बाल दिवसले नयाँ पाठ समेत सिकाउने छ ।
सम्पूर्ण विद्यार्थीलाई बाल दिवसको शुभकामना !
-सुष्मा ढकाल
पाथीभरा सेकेन्डरी स्कुल इटहरी
प्रतिक्रिया