सुदन गुरुङको चेतावनी: ‘पीडितको माग पूरा नभए सरकार ढल्छ’

आइतबार, २९ भदौ २०८२

काठमाडौँ : जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले आन्दोलनका क्रममा पीडित परिवारको माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । आइतबार काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले शहीद परिवारको माग पूरा नभए प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारसमेत ढल्ने चेतावनी दिए ।

गुरुङले आन्दोलनमा पीडितले न्याय पाउने विषय अझै सुनिश्चित नभएको भन्दै गम्भीर प्रश्न उठाए । नवनियुक्त प्रधानमन्त्री कार्कीले सिंहदरबार पुगेर पदभार ग्रहण गरेको केहीबेरमै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

“हाम्रो माग अझै पूरा भएको छैन, जारी नै छ । म एक्लै भए पनि आन्दोलनलाई निरन्तरता दिन्छु । मलाई कोही इण्डियन, कोही चाइनिज भनेपनि मेरो निम्ति देश ठूलो हो । पीडितले न्याय पाउने कुरा कन्फर्म भएको छैन । त्यो नभएसम्म जुनसुकै सरकार भए पनि ढल्छ,” गुरुङले भने ।

उनले जनताको शक्तिलाई नै प्रमुख ठहर गर्दै नेताको हातमा मात्र सत्ता रहने पुरानो प्रवृत्ति अब अन्त्य भएको दाबी गरे । “पावर जहिले नेताको हातमा हुन्थ्यो, अहिले जनताले एक्सेस पाएका छन् । त्यो यसअघि कहिल्यै भएको थिएन,” उनले जोड दिए ।

कार्यक्रममा शहीद परिवारका सदस्यहरूले पनि जेनजी आन्दोलनको क्रममा हत्या र दमनमा संलग्न व्यक्तिहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरे । उनीहरूले न्याय बिना कुनै पनि सरकार टिक्न नसक्ने स्पष्ट सन्देश दिएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार