‘जेनजी पुस्ता’ आन्दोलनमा सहभागी कार्यकर्तालाई माओवादीले कारबाही गर्ने

आइतबार, २९ भदौ २०८२

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ‘जेनजी पुस्ता’ आन्दोलनमा संलग्नता देखिए आफ्ना नेता तथा कार्यकर्तालाई कडा कारबाही गर्ने घोषणा गरेको छ।

आज पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जारी गरेको विज्ञप्तिमा तोडफोड र आगजनीजस्ता गतिविधिमा पार्टीसँग सम्बन्धित कोही व्यक्ति संलग्न भएको पुष्टि भएमा अनुशासनात्मक कारबाही गरिने उल्लेख छ।

माओवादी केन्द्रले आन्दोलनको आडमा आफ्ना कार्यालय, नेता तथा कार्यकर्ताको घर र सम्पत्तिमा भएको तोडफोड तथा आगजनीको तथ्य सर्वविदित रहेको भन्दै यस्ता घटनाको निन्दा गरेको छ।

विज्ञप्तिमा भनिएको छ,“पार्टी कार्यकर्तालाई दोषी ठहर्‍याउने आधारहीन हल्ला फैलाइएको छ, त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको छ। आम जनतालाई यस्ता दुष्प्रचारबाट भ्रममा नपर्न अनुरोध गर्दछौँ।”

‘जेनजी पुस्ता’ले अघि सारेका मागलाई जायज भन्दै माओवादी केन्द्रले आन्दोलनभित्र प्रतिगामी, लोकतन्त्र र गणतन्त्र विरोधी तत्त्व प्रवेश गरी विध्वंस मच्चाएको आरोप लगाएको छ। साथै, तथ्य र प्रमाणसहित संलग्नता देखिने व्यक्तिमाथि सरकारले पनि कडा कारबाही गर्नुपर्ने माग गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार