काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले नेतृत्व गरेको अन्तरिम सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । आइतबार साँझ तीन नयाँ मन्त्रीहरू नियुक्त गरिएसँगै आज सोमबार उनीहरूले शपथ ग्रहण गर्दैछन् ।
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । घिसिङले विद्युत् क्षेत्रमा उल्लेखनीय सुधार गरेर व्यापक प्रशंसा कमाएका थिए ।
त्यस्तै, चर्चित कानुनविद् ओमप्रकाश अर्याललाई गृह मन्त्रालयसहित कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । अर्याल हालैसम्म काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहका कानुनी सल्लाहकार थिए ।
पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको नेतृत्व गर्ने जिम्मा दिइएको छ । अन्य मन्त्रीहरूको नाम भने टुङ्गो लागेको छैन । जेनजी आन्दोलनबाट बनेको कार्की सरकारले २१ फागुनमा चुनाव गर्ने निर्णय गरिसकेको छ ।
गत सोमबार र मङ्गलवार जेनजी पुस्ताका युवाहरूले काठमाडौँ लगायत देशभरि प्रदर्शन गरेका थिए । प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए ।
ओलीको राजीनामापछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत शुक्रवार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।
प्रतिक्रिया