गृहमन्त्री अर्याल भन्छन्-हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो

सोमबार, ३० भदौ २०८२

काठमाडौं। गृह एंव कानूनमन्त्री ओमप्रकाश अर्यालले निष्पक्ष निर्वाचनको लागि काम गर्ने मूल कार्यभार लिएर सरकार गठन भएको बताएका छन्।

सोमबार सपथ ग्रहणपछि उनले तत्कालको अवस्थालाई सामान्यकरण गर्न प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा स्वतन्त्र पृष्ठभूमि रहेका सदस्यहरु राखेको भन्दै सबैको मूल कार्यभार निष्पक्ष निर्वाचन नै रहेको बताए।

उनले भने, ‘प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा पनि स्वतन्त्र पृष्ठभूमि रहेका सदस्यहरु रहेर निष्पक्ष निर्वाचनको लागि काम गर्नुपर्ने मूल कार्यभार छ। यहीसँग सम्बन्धित रहेर सरकार गठन भएको हो। तत्कालको अवस्थालाई हेर्दा स्थिति सामान्यकरण गर्नुपर्ने छ। आन्दोलनमा सरिक भएर ज्यान गुमाउने पीडितहरु जो हुनुहुन्छ उहाँहरुलाई सहिद पनि घोषणा गरिएको छ।’

यस्तै, उनले भ्रष्टाचाररहित समाज निर्माणको लागि देशमा शोकको परिस्थिती आएको भन्दै अब सुशासन कायम गर्ने र समृद्धि ल्याउने राष्ट्रिय विषयलाई लिएर अगाडि बढ्नु पर्ने बताए।

उनले भने, ‘कतिको दाहासंस्कार हुन बाँकी छ, कति घाइते हुनुहुन्छ। खासगरि जेनजीहरुको यसमा अगुवाई रहेको थियो। देशमा अहिले शोकको परिस्थिती छ। तर भ्रष्टाचाररहित समाज हुनुपर्छ भन्ने हाम्रो बुझाइ हो। सुशासन कायम गर्ने र समृद्धि ल्याउने भनेर राष्ट्रिय रुपमा जुन विषय उठेको छ, यसलाई राष्ट्रपतिले पनि स्वीकार गरेर अगाडि बढ्न एउटा अन्तरिम नागरिकको सरकार बनेको छ।’

सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको सम्बन्धमा अध्ययन अनुसन्धानहरु हुनुपर्ने आन्दोलनकारीहरु कै माग रहेको हुनाले छानबिन हुने पनि उनको भनाइ छ।
उनले भने, ‘देशको प्रमुख अंगको रुपमा रहेका कार्यालयहरु नै क्षति भएको छ। काम गर्न पनि समस्याहरु आएको छ। मर्मत वा पुननिर्माण गरेर अगाडि बढ्न पनि चुनौती छ। सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको सम्बन्धमा अध्ययन अनुसन्धानहरु हुन्छ। साथै आन्दोलनकारीहरु को पनि माग छ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार