विराटनगरको भाटभटेनीमा जलेको अवस्थामा मानव कंकाल फेला

सोमबार, ३० भदौ २०८२

विराटनगर। जेनजी आन्दोलनका क्रममा सोमबार दिउँसो विराटनगर महानगरपालिका–६ स्थित भाटभटेनी सुपरमार्केटको दोस्रो तल्लामा पूर्णरूपमा जलेको मानव कंकाल फेला परेको छ। मोरङ प्रहरीले जनाएको छ कि शव जलेर केवल हड्डी मात्रै बाँकी रहेको छ, जसबाट पुरुष वा महिला हो भनेर छुट्याउन कठिन भइरहेको छ।

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले घटनास्थलमा पुगेको टोलीले प्रारम्भिक अनुसन्धान सुरु गरेको जानकारी दिए। उनका अनुसार, कंकाल फेला पर्नुको कारण सम्भवत: भाटभटेनीमा आगलागीको समयमा सामान चोरी गर्न भित्र प्रवेश गरेका व्यक्तिको जलेर मृत्यु हुनु हुनसक्ने अनुमान गरिएको छ।

भाटभटेनी सुपरमार्केटमा भदौ २४ गते जेनजी आन्दोलनका नाममा अराजक समूहले आगजनी गरेको थियो। सो क्रममा सुपरमार्केट ध्वस्त भएको थियो र लुटपाट तथा तोडफोड पनि भएको थियो। जलेर खरानी भएको स्थान सरसफाइ गर्ने क्रममा कर्मचारीहरूले शव फेला पारेका हुन्।

प्रहरीले घटनास्थलबाट मानव कंकाल कोशी अस्पताल लैजाने तयारी गरिरहेको छ र पहिचानका लागि आवश्यक परीक्षण गरिने जनाएको छ। एसपी चिमरियाले भने, “अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता पत्ता लाग्नेछ।”

यसअघि धरानको भाटभटेनीमा पनि चार जनाको शव फेला परेको थियो। जेनजी आन्दोलनका नाममा विराटनगर, धरान, दमक र बिर्तामोडमा रहेका भाटभटेनीका शाखामा आगजनी, तोडफोड र लुटपाटका घटनाहरू भएका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार