अख्तियार प्रमुख प्रेम राईलाई राजीनामा गराउने तयारी

सोमबार, ३० भदौ २०८२
तस्बिर : फाइल

काठमाडौँ : जेनजी आन्दोलनपश्चात सुशीला कार्की नेतृत्वको सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईलाई राजीनामा गराउने तयारी थालेको छ। आन्दोलनकारीले सुशासन र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न माग गरेसँगै सरकार राईलाई पदबाट हटाउने विषयमा सक्रिय भएको स्रोतले जानकारी दिएको छ।

सरकारी स्रोतका अनुसार, राई आयोगको जिम्मेवारीअनुसार काम गर्न नसकेको र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको इच्छाअनुसार मात्र कार्य गरेको आरोप लाग्दै आएकोले उनलाई हटाउने तयारी गरिएको हो। प्रधानमन्त्री कार्की र उनका निकट सहयोगीले यस कदममार्फत अन्य राजनीतिक नियुक्तिहरूमा समेत नियन्त्रण सजिलो हुने आँकलन गरेका छन्।

विशेष अदालतको फैसलाले पनि राईको कार्यशैलीमा प्रश्न उठाएको थियो। वाइडबडी विमान खरिद प्रकरणमा तत्कालीन पर्यटनमन्त्रीको सचिव भएका बेला राईले आफैंलाई संरक्षण गर्दै गलत निर्णयमा अख्तियारले अनुसन्धान नगरेको भन्दै अदालतले ‘चयनमुखी अभियोजन’को आरोप लगाएको थियो। फैसलामा भनिएको छ, “एउटै कार्यमा संलग्न कसैलाई अभियोजन नगर्ने र कसैलाई गर्ने जस्तो चयनमुखी दृष्टिकोण न्यायप्रक्रियामा विश्वासमा आघात पुर्‍याउँछ।”

नेपाल वायुसेवा निगमको २०७३ वैशाख २ गतेको सञ्चालक समितिले नयाँ विमान खरिद गर्ने निर्णय गर्दा राई नेतृत्वको समितिले पुरानो विमान खरिद गर्ने प्रक्रिया अपनाएको थियो। यसमा अख्तियारले कुनै अनुसन्धान नगरेको र विशेष अदालतले पनि यसप्रति आपत्ति जनाएको थियो।

सरकारको यो तयारीले आगामी दिनमा अख्तियारसहित अन्य संवैधानिक निकायमा राजनीतिक नियुक्तिहरूमा व्यापक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार