भारतमा गाडी दुर्घटना हुँदा चार नेपालीको मृत्यु

मंगलबार, ३१ भदौ २०८२

एजेन्सी । भारतको हिमाचल प्रदेशमा भएको गाडी दुर्घटनामा परी चार नेपालीको ज्यान गएको छ। सिमला जिल्लाको कोटखाई नजिक पिकअप जिप भीरबाट खस्दा सल्यानका एकै परिवारका तीन जनासहित चार नेपालीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मृतकमध्ये सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन्। उनीहरूमध्ये डिल्लीबहादुर, एकेन्द्र र लक्ष्मी एकै परिवारका सदस्य हुन्। दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भए पनि उपचारपछि स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको छ।

भारतीय चालक ४० वर्षीय जोगिन्दर सिंहको समेत दुर्घटनामा ज्यान गएको छ। प्रहरीका अनुसार चालकले गाडी नियन्त्रण गर्न नसक्दा जिप सडक छेउको भीरबाट तल खसेको थियो। तीन जनाको घटनास्थलमै र अन्य दुईको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको पुष्टि गरिएको छ।

मृतकहरूको शवलाई पोस्टमार्टमका लागि पठाइएको र सम्बन्धित परिवारलाई खबर गरिसकिएको भारतीय प्रहरीले जनाएको छ।

घटनाप्रति हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखु र स्थानीय सांसद तथा शिक्षामन्त्री रोहित ठाकुरले दुःख व्यक्त गरेका छन्। उनीहरूले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै सरकारको तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार