काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा उत्पन्न भएको नयाँ राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीभित्र आमूल सुधारको आवश्यकता औंल्याएका छन्।
जेन-जी युवाहरूको आन्दोलनपछि देश नयाँ चुनौतीपूर्ण राजनीतिक मोडमा पुगेको बताउँदै उनले पार्टी पुनर्गठनका लागि आफू महामन्त्री पद छोड्न समेत तयार रहेको प्रस्ताव गरेका छन्।
सामाजिक सञ्जालमार्फत जारी गरिएको ६ बुँदे वक्तव्यमा थापाले निष्पक्ष निर्वाचन र संविधानको रक्षालाई पार्टीको मुख्य जिम्मेवारी मानेका छन्। उनले जेन-जी युवाहरूको मागअनुरूप वैधानिक बाटोबाट राजनीतिक समाधान खोज्न आग्रह गरेका थिए, तर त्यसो हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन्।
थापाले पार्टीको कार्यसम्पादन समितिले सरकार गठन र संसद विघटन संविधानसम्मत छैन भन्ने ठहर गरिसकेको उल्लेख गर्दै अबको मुख्य जिम्मेवारी समयमै निर्वाचन सम्पन्न गराउनु रहेको बताएका छन्। यसका लागि निर्वाचन गराउने जिम्मेवारी लिएर आएको अन्तरिम सरकारलाई सहयोग गर्नुपर्ने र यदि सरकार आफ्नो जिम्मेवारीबाट विचलित भएमा खबरदारी गर्नुपर्ने उनको भनाइ छ।
उनले प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय सरकार कायम रहेकाले संविधानका आधारभूत मूल्य र लोकतान्त्रिक संस्थालाई जोगाउन सचेत रहनुपर्नेमा जोड दिएका छन्।
थापाले भदौ २३ गते राज्यद्वारा भएको दमनको छानबिन गरी दोषीलाई कारबाही गर्न र भदौ २४ पछिको विध्वंस तथा आगजनीको वास्तविक क्षति आँकलन गरी दोषीलाई दण्डित गर्न निरन्तर दबाब जारी राख्नुपर्ने बताएका छन्।
वक्तव्यको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको पार्टी पुनर्गठनको उनको प्रस्ताव हो। उनले भनेका छन्, “पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता हो। संविधान दिवसकै दिनदेखि संकल्पसहित पुनर्गठन अभियान सुरु गरौं।” भ्रष्टाचारमुक्त समाजको नेतृत्व गर्ने गरी पार्टीको सदस्यता, संगठन संरचना र नेतृत्व चयन प्रक्रियामा आमूल सुधार आवश्यक रहेको उनले बताएका छन्।
१. अन्तरिम सरकार गठनसंगै प्रतिनिधिसभा विघटन र निर्धारित समयमा निर्वाचन हुन नसक्दा उत्पन्न हुने रिक्तता राजनीतिक मात्र नभएर संवैधानिक विषय पनि हो।त्यसैले ढिलो चाँडो यो निर्णयको संवैधानिक निरुपण हुने नै छ ।
२. आन्दोलनपश्चात आज जुन राजनीतिक परिस्थिति सिर्जना भएको छ, यो आजको वास्तविकता हो, यसलाई स्वीकार गरौं ।अन्तरिम सरकार गठन भैसकेको छ, निर्बाचनको मिति घोषणा भएको छ। एउटा जिम्मेवार लोकतान्त्रिक पार्टी भएकोले तोकिएको समयमा निर्वाचन सुनिश्चित गराऔं, यसको निमित्त निर्बाचन गराउने जिम्मेवारी लिएर आएको सरकारलाई सहयोग गरौं। कही कतै यो मूल जिम्मेवारीबाट सरकार बिचलित भयो वा अलमलियो भने खवरदारी गरौं। भयरहित वातावरणमा समयमै निष्पक्ष निर्वाचन सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई सही ट्याकमा ल्याउने आज को मुख्य राष्ट्रिय जिम्मेवारी बन्न पुगेको छ, यो कुरा नविर्सौं।
३. प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रिय सभा, प्रदेश सभार स्थानीय सरकार कायम छन् । संविधानका आधारभूत मूल्य र लोकतान्त्रिक संस्थालाई जोगाउन सचेत खवरदारी गर्नु नै हाम्रो मूल जिम्मेवारी हो ।
४. नेपाली कांग्रेसले भदौ २३ गते राज्यद्वारा गरिएको दमन अक्षम्य ठहर गर्दै छानबिनमा सहयोग र दोषीलाई कानून अनुसार दण्डित गराउने प्रतिबद्धता जनाईसकेको छ । त्यसैगरी भदौ २४ र त्यसपश्चातको विध्वंश र आगजनीको वास्तविक क्षति आंकलन गरी दोषिलाई दण्डित गर्न निरन्तर दवाव जारी राख्नुपर्छ ।
५. संघमा राजनीति कहिले सहज होला भनेर नकुरीकन प्रदेश र स्थानीय तहमा क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माण तत्काल प्रारम्भ गर्नुपर्छ । नागरिक सेवाप्रवाहमा कुनै कमी हुन नदिन कोभिड महाव्याधिमा जस्तै स्थानीय सरकार, समुदाय र नागरिक समाजसँग सहकार्य गर्दै व्यवस्थापन गर्न अग्रसर हुनुपर्छ । हाम्रो समाज, संविधान र संघीयताको यो आत्मीय पक्षलाई आत्मसात गर्दै पार्टीका सबै तहगत समिति र सदस्यले यथासक्य सघाउन आग्रह गर्दछु ।
६. पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता हो। संविधान दिवस कै दिनदेखि संकल्पसहित पुनर्गठन अभियान सुरु गरौं। जेन-जी आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्ने पार्टी बनाउने गरी पार्टीको सदस्यता, संगठन संरचना, नेतृत्वचयन प्रक्रियादेखि हाम्रा मुद्दा र शैली सबैमा आमूल सुधार जरूरी छ। हामीले अहिले जे र जसरी गरिरहेका छौं त्यसैको निरन्तरताले मात्र पार्टीको पुनर्निर्माण आरम्भ हुँदैन। पार्टीमा आमूल सुधारका लागि हामीले आफ्नो पदीय जिम्मेवारी छोडेर पनि तयार हुनुपर्छ, नयाँ जोखिम उठाउनका निम्ति तयार रहनुपर्छ। यसको लागि म सहर्ष महामन्त्री पद छोड्न तयार छु ।
प्रतिक्रिया