विराटनगर । जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशमा मृत्यु हुनेको संख्या १० पुगेको छ । भदौ २३ र २४ गतेको झडप र आगजनीका घटनामा परी मृत्यु भएकामध्ये ५ जनाको मात्र सनाखत भएको र बाँकी ५ जनाको पहिचान अहिलेसम्म खुल्न सकेको छैन ।
कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार मृतक परिवार वा आफन्तले दाबी नगरेकाले शव पहिचानमा ढिलाइ भइरहेको हो । उनले भने, ‘१० जनाको मृत्यु भएको पुष्टि भएको छ । ५ जनाको पहिचान भइसकेको छ, तर ५ जनाको अहिलेसम्म दाबी भएको छैन ।’
झापाको बिर्तामोडमा अर्जुनधारा नगरपालिका–११ का ३० वर्षीय गोपाल सेढाईं, अर्जुनधारा–८ का ३२ वर्षीय दिनेश राजवंशी र पाँचथरको हिलिहाङ गाउँपालिका–५ का ३० वर्षीय कमल भण्डारीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । त्यस्तै सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठ र इटहरी–१४ का चंखे भनिने मोहन सरदारको ज्यान गएको छ ।
धरानको भाटभटेनी सुपर मार्केटमा भने आगजनीका क्रममा चार जना जलेर मृत्यु भएको अवस्थामा शव भेटिएको छ । ती शव नचिनिने अवस्थामा रहेका कारण अझै सनाखत हुन सकेको छैन । गत सोमबार विराटनगरस्थित भाटभटेनीमा पनि जलेको मानव कंकाल फेला परेको छ, जसको पहिचान अहिलेसम्म खुलेको छैन ।
उक्त घटनामा १ सय १४ जना प्रहरी घाइते भएका छन् । तीमध्ये ५ जनाको अवस्था गम्भीर, ५७ जनाको अवस्था मध्यम रहेको र बाँकी उपचारपछि ड्युटीमा फर्किएको प्रहरीले जनाएको छ । आन्दोलनकारीतर्फ कम्तीमा ४६ जना घाइते भएको प्रारम्भिक विवरण छ, तर यो संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।
प्रहरीका अनुसार आन्दोलनका क्रममा सरकारी कार्यालय र सार्वजनिक सम्पत्तिमा ठूलो क्षति भएको छ । क्षतिको विस्तृत विवरण संकलन भइरहेको र सम्पूर्ण तथ्याङ्क आउन समय लाग्ने एसएसपी पोखरेलले बताएका छन् ।
प्रतिक्रिया