जेनजी आन्दोलनमा ज्यान गुमाएका सङ्खुवासभाका प्रवीण कुलुङको शव खराब मौसमले अड्कियो

बुधबार, ०१ असोज २०८२

सङ्खुवासभा : भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलनको प्रदर्शनका क्रममा मृत्यु भएका सङ्खुवासभा, सिलिचोङ गाउँपालिका–३ का २१ वर्षीय प्रवीण कुलुङको शव खराब मौसमका कारण जिल्लामा ल्याउन सकिएन।

नेपाली सेनाको हेलिकप्टरमार्फत शव सङ्खुवासभा ल्याउने तयारी गरिएको भए पनि खराब मौसमका कारण शव विराटनगरमै रोकिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिइन्।

उनका अनुसार कोशी प्रदेशका सङ्खुवासभा, धनकुटा र सुनसरीका मृतकहरूको शव भने विराटनगर ल्याइएको छ।

प्रवीण कुलुङको शव टिचिङ अस्पतालमा राखिएको थियो। मौसम खुलेपछि मात्रै शव जिल्ला ल्याइने र अहिले विराटनगरमै राखिएको आफन्तले बताएका छन्।

कुलुङको अन्त्येष्टि मंगलबारनै सिलिचोङस्थित लकुवामा गर्ने तयारी भए पनि मौसम प्रतिकूलताले कार्यक्रम स्थगित भएको हो।

त्यस्तै, सोही आन्दोलनमा मृत्यु भएका सङ्खुवासभा, सिलिचोङ–५ का साजन राईको शव भने धरानमा रहेका आफन्तलाई जिम्मा लगाइने भएको छ।

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार