काठमाडौँ । २३ र २४ भदौमा राजधानीसहित देशका विभिन्न सहरमा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि ठुलो क्षति पुग्यो । प्रदर्शनकारीको निशानामा सार्वजनिक सम्पत्तिसँगै व्यापारिक घराना र राजनीतिक दलसँग जोडिबएका व्यक्ति परे ।
यही क्रममा कीर्तिपुरस्थित टिकटकर अंश वर्माको ‘चिया बगान’ नामक रेस्टुरेन्टमा पनि प्रदर्शनकारीले आगो लगाइदिए । आखिर एक टिकटकरसँग प्रदर्शनकारीको के रिस थियो होला ?
टिकटकर अंश वर्माका अनुसार २४ भदौ बेलुका करिब ५ बजेतिर प्रदर्शनकारीको एक समूह अंशको ‘चिया बगान’मा प्रवेश ग¥यो र त्यहाँ आगो लगाइदियो । यो घटनापछि स्तब्ध बनेका अंश प्रश्न गर्छन्, “के मैले कसैसँग फोटो खिच्दैमा म नराम्रो भएँ र ? म कुनै राजनीतिक दलको मान्छे होइन, आजसम्म कुनै पार्टीको सदस्यता लिएको छैन । म त स्वतन्त्र भएर देशमै केही गर्न खोजिरहेको थिएँ ।” उनलाई पार्टीसँग जोडेर बदनाम गर्ने प्रयास भएको र त्यसैको नतिजास्वरूप उनको रेस्टुरेन्ट जलाइएको उनको बुझाइ छ ।
उनको यो भनाइले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनले खिचेको एउटा तस्बिरतर्फ सङ्केत गर्छ । गत २४ माघमा टिकटकर अंश वर्मा र ‘मिस पवी’ले ओलीलाई बालुवाटारमा भेटेका थिए । त्यही भेट र तस्बिर नै उनीप्रति सामाजिक सञ्जाल प्रयोगकर्ता र प्रदर्शनकारीको आक्रोशको मुख्य कारण बन्यो ।
त्यो दिन संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम थियो । जब प्रचण्ड रोस्टममा बोल्न उभिए, उनले प्रधानमन्त्री ओलीलाई खोजे । तर, संसदीय परम्पराविपरीत प्रधानमन्त्री ओली सदनमा उपस्थित थिएनन् । उनले सामाजिक सञ्जालमार्फत आफू ‘आन्तरिक काममा व्यस्त’ भएको जानकारी दिएका थिए ।
तर, साँझ पर्दा नपर्दै प्रधानमन्त्री ओलीको व्यस्तताको वास्तविकता खुल्यो । उनी टिकटकर अंश वर्मा र मिस पवीसँग भेटघाट र रमाइलो गरिरहेका थिए । उनीहरूसँग फोटो खिच्ने र टिकटक भिडिओ बनाउने काममा व्यस्त थिए भन्ने भाष्य सिर्जना भयो । एकातिर देशको प्रमुख प्रतिपक्षी दलको नेतालाई सदनमा बेवास्ता गर्ने, अर्कोतिर टिकटकरसँग समय बिताएको भन्दै ओलीको चर्को आलोचना भयो ।
त्यसपछि सामाजिक सञ्जाल प्रयोगकर्ता ओलीसँगै अंश वर्मा र मिस पवीमाथि पनि खनिए । सरकारले सामाजिक सञ्जालमाथि नियमन गर्ने विधेयक ल्याउँदा चुप बस्ने तर सत्तासँग नजिक देखिने भन्दै अंशको आलोचना चुलियो ।
ओलीसँगको भेट मात्र अंशमाथि आक्रोश पोखिनुको एक्लो कारण थिएन । जेनजी प्रदर्शन हुनुअघि सामाजिक सञ्जालमा नेपाली राजनीतिज्ञका सन्तानको विलासी जीवनशैलीविरुद्ध चलेको ‘नेपो किड्स’ अभियानमा उनले साथ नदिएको भन्दै धेरैजना उनीसँग रुष्ट थिए । सरकारका गलत कदममा मौन बस्ने तर सत्ताको नजिक हुने उनको छवि बनेको थियो । यसले जेनजी प्रदर्शनकारीलाई थप आक्रोशित बनायो ।
आफ्नो लगानी र सपना खरानी भएको देखेपछि अंशले दुखेसो पोखे, “मैले कुनै व्यक्तिसँग होइन, प्रधानमन्त्रीको पदसँग फोटो खिचेको हुँ । के पदसँग फोटो खिच्नु अपराध हो र ?” उनले आफ्नो प्रगतिमा डाह गर्नेहरूले पनि यो घटना गराएको हुन सक्ने आशङ्का गरेका छन् ।
आफ्नो रेस्टुरेन्टमा २८ देखि ३० जनाले रोजगारी पाएको बताउँदै उनले अब देशमा लगानी सुरक्षित नभएको महसुस गरेको र भविष्यमा लगानी नगर्ने बताएका छन् । टिकटकमा ११ लाख बढी र इन्स्टाग्राममा आठ लाख बढी फलोअर भएका अंश वर्माले आफ्नो सामाजिक सञ्जालबाट ‘चिया बगान’को व्यापक चर्चा गरेका थिए । यसैको प्रभाव उनको रेस्टुरेन्टमा ग्राहकको भिड लाग्ने गरेको उनी बताउँछन् । “म दिनमा १४०० कप चिया बेच्थेँ, राम्रो चलिरहेको थियो । छेउछाउकै मान्छेले देख्न सकेनन्,” उनी भन्छन् ।
प्रतिक्रिया