पीडामा मलमपट्टी लगाउने नाम : आशिका तामाङ

बुधबार, ०१ असोज २०८२

काठमाडौं । जेनजी आन्दोलनले देशभर चर्किएको बेला सडकदेखि अस्पतालसम्म पीडा र रगतले भयावह दृश्य बोकेको थियो । यसैबीच, आफ्नो नाम प्रचारमा ल्याउने अपेक्षा नगरेकी एक युवती चुपचाप घाइतेहरुसँग खटिरहेकी थिइन् । उनी हुन्– सामाजिक अभियन्ता आशिका तामाङ, जसले पीडामा मलमपट्टी लगाउने हात बनेकी छन् ।

जेनजी आन्दोलनका क्रममा घाइते भएर अस्पतालमा भर्ना भएका दर्जनौं व्यक्तिहरूको उपचारमा अस्पताल प्रशासनले धान्नै नसक्ने स्थिति थियो । चिकित्सक र नर्सहरू थकित देखिन्थे, कतिपय घाइतेका आफन्त नै पुग्न सकेका थिएनन् । त्यही बेलामा आशिकाले घाइतेलाई खाना, पानी, लुगा, मलमपट्टीदेखि औषधिसम्मको व्यवस्था गरिन् । वीर अस्पताल, टिचिङ, सिभिललगायत काठमाडौंका प्रमुख अस्पतालमा उनी निरन्तर उपस्थित भइन् ।

उनको सेवा केवल स्वास्थ्य सामग्रीमा मात्र सीमित रहेन । उनी घाइतेहरुको आत्मीय परिवार बनीन् । कोही घाइतेसँग सम्पर्क हुन नसकेका आफन्तसम्म सन्देश पु¥याइन्, कोहीलाई भावनात्मक सहारा दिइन् । आन्दोलनमा गोली लागेर ज्यान गुमाएका बझाङका सुभाष बोहराको परिवारलाई उनले एक लाख रुपैयाँभन्दा बढी सहयोग गरिन् । पशुपतिमा गरिएका दाहसंस्कारमा समेत उनले अग्रसर भएर व्यवस्थापनमा साथ दिइन् ।

सामाजिक सञ्जालमा सुरुमा कतिपयले उनको आलोचना गरे पनि आज उनी नै ‘दोस्रो भगवान’ का रुपमा चिनिँदैछिन् । नेतृत्व भनेको भाषण वा पदमा होइन, कर्ममा हुन्छ भन्ने पाठ आशिकाले आफ्नै कार्यमार्फत समाजलाई सिकाएकी छन् ।

आजको अस्थिर परिस्थिति र आन्दोलनले पिडित समाजमा आशिका तामाङ एउटा जीवन्त प्रेरणा हुन् । उनले प्रमाणित गरिदिएकी छन्– मानवता भनेको कुनै नीतिमा होइन, दिलको आवाजमा हुन्छ । जतिबेला कसैको पीडामा अर्को मन नजिक पुग्छ, त्यहीँबाट परिवर्तनको बीउ रोपिन्छ ।

आशिका तामाङले देखाएको निस्वार्थ सेवाभावले समाजमा अझै आशा बाँकी रहेको प्रमाणित भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार