जेनजी प्रदर्शन: संसद् भवन भित्रको बैङ्कबाट १८ किलो सुन र ५ करोडभन्दा बढी नगद लुटपाट भएको खुलासा

बुधबार, ०१ असोज २०८२

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा संसद भवन पछाडिको राष्ट्रिय वाणिज्य बैंक, नयाँ बानेश्वर शाखाबाट १८ किलो सुन र ५ करोडभन्दा बढी नगद लुटपाट भएको तथ्य खुलेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालका अनुसार भदौ २४ गतेको प्रदर्शनमा प्रदर्शनकारी समूहले शाखाको भल्टसम्म प्रवेश गरी आइरन गेट फोड्दै सुन र नगद रकम चोरी गरेको हो।

लुटिएको सुन धितो राखिएका सामग्रीसहितको भएको र हालको बजार मूल्य अनुसार साढे ३३ करोड रुपैयाँ बराबर पर्ने अनुमान गरिएको बैंकले जनाएको छ। सीईओ खनालले भने, ‘‘ग्राहकको व्यक्तिगत लकर भने सुरक्षित छ तर बैंकमा रहेको सुन र नगद चोरी भएको छ।’’

घटनाको दृश्य सहितको सीसीटीभी फुटेज प्रहरीलाई बुझाइएको र उजुरी समेत दर्ता गरिएको बैंकले जानकारी दिएको छ। लुटपाटको क्रममा संसद भवन परिसरमा तोडफोड र आगजनी पनि भएको थियो। सेना परिचालन भएपछि बैंक तोडफोड गरिरहेका पाँच जनालाई नियन्त्रणमा लिइएको भए पनि लुटपाटमा संलग्न मुख्य समूह भने पहिचान हुन बाँकी छ।

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सोमबार नयाँ बानेश्वर शाखाको अवलोकन गरी क्षतिको अवस्था बुझेका थिए। उनले जेनजी आन्दोलनका क्रममा ६८ बैंकका शाखा र ६९ एटीएममा आक्रमण भए पनि समग्र बैंकिङ प्रणाली सुरक्षित रहेको बताए।

यो घटनाले राजनीतिक आन्दोलनको बीचमा समेत देशको प्रमुख बैंकिङ संस्थाको सुरक्षा प्रणालीबारे गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार