झापा । अर्जुनधारा नगरपालिका-८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशी जेनजी प्रदर्शनमा सहिद भएपछि परिवारको विचल्ली भएको छ । विर्तामोडमा गत भदौ २४ गते भएको जेनजी प्रदर्शनमा सहभागी उनी प्रहरीको गोली लागेर घाइते भएका थिए । स्थानीय बिएण्डसी टिचिङ हस्पिटलमा उपचारका क्रममा गत भदौ २७ गते बिहान उनको निधन भयो ।
पौरखी र मिलनसार स्वभावका उनी दुई वर्ष खाडीमुलुक कतारमा बसेर स्वदेश फर्किएका थिए । स्वदेशमा केही उद्यम गर्ने सोचका साथ उनले परिवारको जीविकोपार्जनका लागि मासु पसल सञ्चालन गर्न थालेका थिए । उनकी पत्नी जान्ती राजवंशीले आयआर्जनका लागि दैनिक ज्यालादारी काम गरे ।
दिनेशको पाँच वर्षीय एक छोरा रिदम र एक वर्षीया छोरी दिपीका अहिले पनि बुबा घर आउनुहोला भनेर बाटो कुरिरहेका छन् । उनकी ३० वर्षीया पत्नी जान्ती र ५५ वर्षीया आमा सपना राजवंशीको आँखाबाट आँसु ओभाएका छैनन् । बुबा मङ्गलु राजवंशीको तीन वर्षअघि निधन भइसकेको छ ।
जेनजी प्रदर्शनमा दिनेशले सहादत प्राप्त गरेपछि उहाँमाथि आश्रित परिवार आर्थिक रूपमा कमजोर बन्दै गएपछि परिवारको विचल्ली हुने हो कि भन्ने चिन्ता लागेको राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशीले बताए । विदेश गएर कमाएको पैसाले घर चल्दै आएको थियो, उनले भने, देशभित्र रोजगारी नपाएपछि फेरि रोमानिया जाने तयारीमा हुनुहुन्थ्यो उहाँ । साना नानीहरू र परिवारको पालनपोषणको जिम्मेवारी अब कसले लिने ?
दिनेशको सानो कच्ची घरमा दाजु र भाउजुसहितको संयुक्त परिवार बसोबास गर्दै आएको छ । उहाँको निधनपछि छोराछोरी र आमाको पालनपोषण कसरी गर्ने भनेर चिन्ता थपिएको दिनेशकी पत्नी जान्तीले बताए । घरमा साना छोराछोरी छन्, तिनीहरूलाई हुर्काउने, पालनपोषण गर्ने र पढाउनका लागि कमाएर ल्याउने जिम्मेवारी मेरो काँधमा आएको छ, उनले भने, वृद्ध सासुआमा हुन् । घरको कमाएर ल्याउने मान्छे नरहेपछि अब कसरी बाँच्नु ।
मासु बिक्रीको सानो पसल चलाउँदै आएका दिनेश देशभित्र रोजगारीको अवसर नदेखेर रोमानिया जाने तयारी गर्दै थिए । उनको निधनपछि परिवारको गर्जो कसरी टार्ने भनेर दिनेशको परिवारमा चिन्ता थपिएको छ । एसएलसीसम्म अध्ययन गरेका दिनेश परिवारका आशा र भरोसा थिए ।
मैले आर्थिक अवस्था कमजोर भएकै कारण धेरै पढ्न नसके पनि आधा गाँस नखाएरै छोराछोरीलाई धेरै पढाउँछु भने, दिनेशकी पत्नी जान्तीले भने, उनको सपना अब अधुरै रह्यो । गत भदौ २४ गते विर्तामोडमा भएको जेनजी प्रदर्शनमा दिनेश घाइते भएको खबर सुन्नेबित्तिकै जान्ती बिएण्डसी हस्पिटल पुगेका थिए । जहाँ दिनेश जीवन र मृत्युको दोसाँधमा छटपटाइरहेका थिए । घाइते भएको तीन दिनमा उनको निधन भयो ।
हाल दिनेशको काजकिरिया उनको दाजु गोवर्द्धन राजवंशीले गरिरहेका छन् । रोजगारीको सिलसिलामा विदेशमा रहेका उनी भाइको निधन भएको खबर सुनेर स्वदेश आएका हुन् । भाइले मुलुकमा परिवर्तनका लागि जीवन दिएकाले छोरा रिदम र छोरी दिपीकालाई उच्च शिक्षासम्मको अध्ययन गर्ने वातावरण सरकारले बनाउनुपर्ने गोवर्द्धनको माग छ । उनले भने, परिवारको निर्वाह र सन्तानको शिक्षादीक्षाको जिम्मा राज्यले लिनुपर्छ ।
प्रतिक्रिया