बहिर्गमन हुने समयमा मनसुन पुनःसक्रिय

बुधबार, ०१ असोज २०८२

काठमाडाैँ :  औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय भए पनि अहिले पुनः सक्रिय बन्न थालेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर र बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावले मनसुन सक्रिय भएको जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार प्रायः बहिर्गमन हुने बेलामा पनि मनसुन सक्रिय हुने गर्छ । उनले भने, “सामान्यतया अक्टोबर २ मा मनसुन बाहिरिने गर्छ । मनसुन बहिर्गमन हुन १५ दिन मात्रै बाँकी छ, कहिलेकाहीँ मनसुन लम्बिन पनि सक्छ । यो वर्ष सरदर मितिमै मनसुन बहिर्गमन हुन्छ वा हुँदैन अहिल्यै भन्न सकिँदैन ।”

उनका अनुसार आज पनि देशभर साधारणतया मौसम बदली रहनेछ भने बागमती र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । साथै कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उनले बताए ।

यससँगै देशका केही नदीहरूमा पानीको बहाव बढ्न सक्ने चेतावनीसमेत विभागले दिएको छ । विभागका बाढीविद् विनोद पराजुलीले दोलखा, सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही, नवलपरासी पूर्व–पश्चिम, डोटी, कैलालीलगायत जिल्लाबाट बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम उच्च हुने बताए ।

उनले थपे, “इलाम, झापा, मोरङ, काठमाडौँ, ललितपुर, भक्तपुर, बारा, पर्सा, चितवन, कास्की, तनहुँ, स्याङ्जा, म्याग्दी, बाग्लुङ, पर्वत, गुल्मी, अर्घाखाँची, बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेख, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला र आसपासका जिल्लाबाट बहने केही नदीहरूमा पनि बहाव बढ्ने सम्भावना छ । त्यसैले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आवश्यक छ ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार