सुनसरीमा बस र ट्रक ठोक्किँदा २ जनाको मृत्यु, २१ घाइते

विहीबार, ०२ असोज २०८२

सुनसरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–३ पुलचोकमा बिहीबार बिहान यात्रुवाहक बस र ट्रक ठोक्किँदा  दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ तीव्र गतिमा आउँदै गरेको प्रदेश १–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले बिग्रिएर सडक छेउमा रोकेर राखिएको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई बिहान करिब ९ः३० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । दुर्घटनापछि सुनसरी प्रहरी र इलाका प्रहरी कार्यालय लौकहीका टोली तत्काल उद्धारमा खटिएका थिए ।

दुर्घटनामा करिब ३५–४० वर्षका एक पुरुषको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा १०ः३० बजेतिर मृत्यु भएको थियो  । 

दुर्घटनामा गम्भीर घाइते भएकामध्ये सिरहा सखुवान्नकट्टी गाउँपालिका–३ की ४५ वर्षीया धनेश्वरीदेवी यादवको सुनसरीको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पतालमा उपचारको क्रममा बिहान १०ः५० बजे मृत्यु भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

घाइते २१ मध्ये अधिकांश सप्तरी र सिराहाका रहेका छन् । उनीहरूलाई इनरुवा जिल्ला अस्पताल र भोक्राहा स्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र आईसीयूमा राखिएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि करिब आधा घण्टासम्म पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको थियो । अहिले दुर्घटनाग्रस्त बस र ट्रक हटाएर सडक सञ्चालनमा ल्याइएको छ । प्रहरीका अनुसार बस र ट्रक दुवैमा ठूलो क्षति पुगेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार