राजतन्त्र स्थापना हुने सम्भावना प्रवल: अध्यक्ष लिङ्देन

विहीबार, ०२ असोज २०८२

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशलाई दीर्घकालीन स्थायित्व, समृद्धि र वैदेशिक हस्तक्षेपबाट जोगाउन सबै राजनीतिक शक्तिबिच नयाँ समझदारी कायम गर्नुपर्ने प्रस्ताव गरेको छ ।

धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सञ्चारकर्मीसँग कुरा गर्दै अहिलेको संसद् देशका गम्भीर समस्याहरू समाधान गर्न असफल भएको दाबी गरे ।

उनका अनुसार संसद् पुनः स्थापना गर्नु भनेको मुलुकलाई पुनः द्वन्द्वमा धकेल्ने काम हुनेछ ।

लिङ्देनले जेनजी विद्रोहले ल्याएको सबैभन्दा ठूलो परिवर्तन पुस्तान्तरण भएको उल्लेख गर्दै, आन्दोलन राजा ल्याउनका लागि नभई भ्रष्टाचार र बेथितिका विरुद्ध भएको स्पष्ट पारे । तर दीर्घकालीन स्थायित्व र समृद्धिका लागि राजसंस्था आवश्यक भएको भन्दै नेपाली जनताले चाँडै नै यसलाई अभिभावकीय संस्थाको रूपमा पुनः स्थापित गर्ने विश्वास व्यक्त गरे ।

राप्रपाले अन्तरिम सरकारले चाल्ने कदमका आधारमा आफ्नो दृष्टिकोण तय गर्ने जनाएको छ । साथै भ्रष्टाचारी र जेनजी आन्दोलनका नरसंहारकर्तालाई कठोर कारबाही गर्नुपर्ने माग गरेको छ ।

लिङ्देनले आन्दोलनको उद्देश्य केवल सरकार परिवर्तन नभई सम्पूर्ण प्रणालीको सुधार रहेको बताए ।

उनले अन्तरिम सरकार आफैँ संविधान बाहिरबाट बनेकोले संविधान मृत भएको दाबी गर्दै, अहिलेको सरकारले आँट गरेर जेनजी आन्दोलनको भावना अनुसार प्रणालीमै सुधार गर्ने कदम चाल्नुपर्नेमा जोड दिए ।

प्रदेश सरकार र सभाबारे पनि उनले स्पष्ट पारे । उनका अनुसार राप्रपा सांसदहरूले प्रदेश सभामा राजीनामा दिनेछन् र अन्ततः प्रदेश सभा नै खारेज हुनुपर्ने आवश्यकता रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार