रौतहट : बाराको अमलेखगञ्ज आसपासका बासिन्दाले विगत केही महिना भय र त्रासबीच बिताए। बिहान खेतमा काम गर्न जाने, साँझतिर बनछेउ हिँड्ने वा जंगल नजिक बस्नेहरू निरन्तर आत्तिन्थे—कारण थियो, बारम्बार मान्छेमा आक्रमण गर्ने एक बाघ।
तीन महिनाको अवधिमा पाँचजनामाथि आक्रमण गर्यो। जसमध्ये चार जनाको मृत्यु भयो भने एक जना सैनिक हवलदार घाइते भए। पीडितका घरमा अझै आक्रोश र पीडा जीवित छ।
लामो प्रयासपछि नियन्त्रण
जीतपुरसिमरा उपमहानगरपालिका–२१ को चुरियामाई सामुदायिक वन क्षेत्रमा बसोबास गर्दै आएको उक्त बाघलाई नियन्त्रणमा लिन सरकारले ठूलो संयन्त्र उतार्यो।
राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ टोली, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिहरू महिनौँदेखि योजनाबद्ध प्रयासमा थिए। शुक्रबार बिहान अन्ततः छ वटा हात्तीको सहयोगमा बाघलाई डार्ट प्रहार गरेर नियन्त्रणमा लिन सकियो।
“स्थानीय त्रसित थिए, सबैको दबाब थियो। निरन्तर प्रयासपछि आज हामी सफल भयौँ,” जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले भने।
प्राविधिक रणनीति
बाघलाई समात्नका लागि प्राविधिकहरूले विशेष योजना अपनाए। चुरियामाई सामुदायिक वनका तीन ठाउँमा राँगा बाँधेर क्यामरा जडान गरियो। क्यामराले राँगामाथि बाघको आक्रमण कैद गरेपछि सोही क्षणलाई प्रयोग गर्दै डार्ट प्रहार गरियो।
वडाध्यक्षहरू सुभाष श्रेष्ठ र शेखर काजी रुम्बाको सक्रियतामा अभियानलाई गति दिइएको थियो।
गाउँमा राहतको श्वास
पटक–पटक आक्रमणका कारण गाउँभरि त्रास फैलिएको थियो। किसानहरू खेत जान डराउँथे, बालबालिका विद्यालय जानुअघि अभिभावक चिन्तित हुन्थे।
“हामी दिनरात डरमा बस्थ्यौँ। अहिले बाघ समातिएको खबरले राहत पाएका छौँ,” जीतपुरसिमराका एक स्थानीयवासीले भने।
अब निकुञ्जतर्फ
नियन्त्रणमा लिइएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्जमा लैजाने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्। यससँगै स्थानीय बासिन्दाले लामो समयपछि सामान्य जीवनमा फर्कने आशा लिएका छन्।
तर, यस घटनाले अर्को प्रश्न उठाएको छ—बाघ र मानवबीचको संघर्ष। नेपालको तराईका संरक्षित क्षेत्र र सामुदायिक बन नजिक पछिल्ला वर्षहरूमा बाघ–मानव द्वन्द्व बढ्दो छ।
प्रतिक्रिया