वीरगञ्ज : वीरगञ्ज महानगर वरपर हैजाका बिरामी भेट्टिएको एक महिनाभन्दा धेरै भइसक्यो । तर अहिलेसम्म हैजा कसरी फैलियो भनेर स्रोत पत्ता लाग्न सकेको छैन भने नियन्त्रणमा पनि आउन सकेको छैन ।
स्वास्थ्य कार्यालय पर्साका अनुसार आइतबार बेलुकी ५ देखि सोमबार बेलुकी ५ बजेसम्मको २४ घण्टामा २८ जना नयाँ हैजाका बिरामी फेला परेका छन् । जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले यही असोज ६ गतेसम्म हैजाका बिरामीको आरडिटी जाँच गर्दा २४० जनामा संक्रमण भेटिएको जानकारी दिए ।
जसमध्ये २३६ जना हैजाका बिरामी उपचार पश्चात डिस्चार्ज भइसकेका छन् । जसमध्ये अझै चार जना उपचारत छन् । महानगर आसपासमा हैजा देखिएपछि यहाँका २१ वटा अस्पतालमा सुरुवाती दिनदेखि असोज ६ गतेसम्म एक हजार ५१२ जना बिरामी हैजा तथा झाडापखलाका लक्षण देखा परेर अस्पताल भर्ना भएका छन् ।
भर्ना भएकामध्ये एक हजार ४७९ जना उपचारपश्चात घर फर्किसकेका छन् । हैजाका चार बिरामी ‘आइसियू’मा उपचाररत छन् भने एक जना ‘एचडियू’मा उपचारत छन् । त्यसैगरी २८ बिरामीको जनरल वार्डमा उपचार भइरहेको छ । जनस्वास्थ्य अधिकृत ठाकुरले सर्वसाधारण जनता आफै सचेत र सजग नहुँदासम्म हैजा नियन्त्रण गर्न गाह्रो हुने बताए ।
‘‘हामीले पर्याप्त मात्रामा जनचेतनाका अभियान सञ्चालन गरिरहेका छौँ । तर सर्वसाधारणहरु अटेरी हुँदा पनि हैजा नियन्त्रण गर्न गाह्रो भइरहेको छ,’’ उनले भनेका छन्, ‘‘पानी उमालेर वा क्लोरिन राखेर खानका लागि अनुरोध गरेका छौँ । सर्वसाधारणले मानेका छैनन् ।’’
उनले मङ्गलबारदेखि स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयसेवीहरुको समूह हैजा प्रभावित वडामा घरघरमा पुगेर क्लोरिनयुक्त पानी खुवाउन सिकाउने कार्यक्रम राखिएको जानकारी दिए ।
प्रतिक्रिया